निजगढ विमानस्थलको काम अघि बढाऊः बारा वन प्राविधिक सङ्घ

८ हजार ४५ हेक्टर वनक्षेत्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्याइएकोमा सोमध्ये १५५० हेक्टर क्षेत्रका रुख विरुवाहरु कटान गरी भौतिक संरचना निर्माण हुने प्रावधान रहेकोमा बाँकी ६९९५ हेक्टर वनक्षेत्र विमानस्थलको रिजर्भको रुपमा नराखी काठ, दाउराको आपूर्तिलाई मध्यनजर राख्दै सक्रिय वन व्यवस्थापनलाई निरन्तरता दिन माग गरेका छन् ।

बारा वन प्राविधिक सङ्घले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । केही वातावरणविज्ञहरुले ठूलो सङ्ख्यामा रुख फँडानी हुने भन्दै तत्काल काम रोकी पुनः वातावरणीय मूल्याङ्कन गर्न सरकारसँग माग गर्दै आएका छन् ।

वन प्राविधिक सङ्घले विज्ञप्ति जारी गर्दै बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सन्दर्भमा पत्र–पत्रिकामा प्रकाशित सामाचार एवम् सरकारी क्षेत्रबाट आएका विषयप्रति बारा वन प्राविधिक सङ्घको गम्भीर ध्यान आकृष्ट भएको जनाएको छ । सङ्घका अध्यक्ष राजदेवप्रसाद यादवले बारामा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्दो सहयोग गर्न तयार रहेको बताएका छन् । ८ हजार ४५ हेक्टर वनक्षेत्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्याइएकोमा सोमध्ये १५५० हेक्टर क्षेत्रका रुख विरुवाहरु कटान गरी भौतिक संरचना निर्माण हुने प्रावधान रहेकोमा बाँकी ६९९५ हेक्टर वनक्षेत्र विमानस्थलको रिजर्भको रुपमा नराखी काठ, दाउराको आपूर्तिलाई मध्यनजर राख्दै सक्रिय वन व्यवस्थापनलाई निरन्तरता दिन माग गरेका छन् ।

विज्ञप्तिमा एयरपोर्ट सिटी वन बाहिर निर्माण गरी वन क्षेत्रको न्यून क्षतिमा विमानस्थललाई दक्षिणतर्फ लैजानु पर्ने उल्लेख गरेका छन् । निजगढसँगै जोडिएको अतिक्रमित क्षेत्रमा विमानस्थल बनाउने तर्फ राज्यले पहल गर्नुपर्ने तथा सीमित वनक्षेत्रमा वन खण्डीकरण नहुने गरी विमानस्थल बनाउन उपयुक्त हुने ठहर गरेको छ । विमानस्थलको निर्माणक्रममा क्षति हुने रुख तथा विरुवाको सट्टा भर्ना वृक्षारोपण बारा जिल्लाको अतिक्रमित क्षेत्र, ऐलानी पर्ती, नदी उकास, नहर किनार तथा निजी तथा सार्वजनिक क्षेत्रमा व्यापक रुपमा गर्नुपर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर तथा लगानीको सुनिश्चितता भएपछि तथा निर्माणको प्रगति आधारमा मात्र रुख कटानको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । सन् १९७२ मा टाँगिया क्षेत्रमा कृषि वन प्रणाली व्यवस्थापनको लागि राज्यले खटाएका कामदारहरुबाट आज ५०० हेक्टर जमिन अतिक्रमित गरी बसेका छन् । उनीहरुको उचित व्यवस्थापन गर्नुपर्छ तर निर्माण हुने विमानस्थलबाट सिर्जित रोजगारीका अवसरमा सहजनाथ र तामागढी साझेदारी वनका उपभोक्तालाई रोजगारीका अवसरमा प्राथमिकता दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।