२८ प्रतिशत लाभग्राही पुनर्निर्माण बाहिर

भूकम्प अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामध्ये निजी आवास पुनर्निर्माणका लागि कुल ८ लाख १० हजार ६ सय ९० लाभग्राहीमा २ लाख २६ हजार ८ सय लाभग्राही पुनर्निर्माण बाहिर रहेका हुन् ।

भूकम्पछिको पुनर्निर्माणका लागि लाभग्राहीको सूचीमा परेकामध्ये २८ प्रतिशत भूकम्प पीडित अझै पुनर्निर्माण बाहिर छन् । भूकम्प अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामध्ये निजी आवास पुनर्निर्माणका लागि कुल ८ लाख १० हजार ६ सय ९० लाभग्राहीमा २ लाख २६ हजार ८ सय लाभग्राही पुनर्निर्माण बाहिर रहेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिले निजी आवास पुनर्निर्माणका लागि ७ लाख २७ हजार ५ सय ९८ जना लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । अहिलेसम्म ७ लाख २१ हजार २ सय ५२ अर्थात् ९७ प्रतिशत लाभग्राहीले पहिलो किस्ता पाइसकेका छन् । त्यसैगरी ५ लाख ७ हजार अर्थात् ६८ प्रतिशतले दोस्रो किस्ता र २ लाख ८८ हजार अर्थात् ३७ प्रतिशत लाभग्राहीले अनुदानबापतको तेस्रो किस्ता पाएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म ३ लाख ७ हजार १ सय ४ घर निर्माण भइसकेका छन् भने ५ लाख ५७ हजार घर निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । हालसम्मको तथ्याङ्क हेर्दा ५ लाख २८ हजार लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन् । त्यस्तै ३ लाख ३२ हजार लाभग्राहीले तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन् । प्राधिकरणले आगामी ३ महिनाभित्र दर्ता भएका सबै गुनासाहरु फछ्र्यौट गर्ने जनाएको छ । २ लाख ५ हजार गुनासाहरु फछ्र्यौट भइसकेका छन् । हाल २ लाख ३७ हजार गुनासाहरु प्राधिकरणमा दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको जेठभित्र निजी आवास पुनर्निर्माण सक्नेगरी अगाडि बढेको प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । उनले कुनै पनि भूकम्प पीडित पुनर्निर्माण बाहिर नरहने गरी यसै वर्ष सबै घर बनिसक्ने बताए ।