भेरीअञ्चल अस्पताल स्तरोन्नति हुने

अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो ।

यहाँस्थित भेरीअञ्चल अस्पताल स्तरोन्नतिका लागि प्रयास थालिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो ।

बाँकेबाट सङ्घीय संसदमा प्रतिनिधित्व गरेका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा अर्थ मन्त्रालयले भवन निर्माणका लागि सहमति प्रदान गरेको थियो । मन्त्री राईका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी अस्पताल भवन निर्माणका लागि सहमति माग गरेकामा मन्त्रिस्तरीय निर्णयले निर्माण कार्यअघि बढाउन सहमति दिएको थियो ।

यसअघि उक्त अस्पतालमा क्याथ ल्याब निर्माणका लागि अर्थ मन्त्रालयले डेढ करोड उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारबाट सय र अस्पताल विकास समितिबाट ५० गरी अस्पतालले हाल १५० शैय्या सञ्चालन हुँदै आएको मेडिकल सुपेरिटेण्डेण्ट रुपानन्द अधिकारीले बताए ।