चौध जना विदेशी पाहुना विद्यालय भवन निर्माणका लागि जग खन्ने, बालुवा, ढुङ्गा बोक्ने, पर्खाल बनाउने, फलामे छड काट्ने, बोक्ने र इँटा बोक्ने काममा सहभागी भएका हुन् ।
स्थानीयसँगै जर्मनीका पाहुना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालयको भवन निर्माणमा जुटेका छन् ।
चौध जना विदेशी पाहुना विद्यालय भवन निर्माणका लागि जग खन्ने, बालुवा, ढुङ्गा बोक्ने, पर्खाल बनाउने, फलामे छड काट्ने, बोक्ने र इँटा बोक्ने काममा सहभागी भएका हुन् । जर्मन टोलीका रोएनाले विपन्न बस्तीमा विद्यालय भवन निर्माणका लागि श्रमदान गर्न पाउँदा निकै उत्साहित भएको बताए । “स्थानीय बासिन्दाको मुहार हँसिलो देख्दा र उनीहरूसँगै श्रम गर्न पाउँदा हामीमा पनि ऊर्जा थपिएको छ” उनले भने ।
टोलीका अगुवा कास्टर्नले विश्वमा हामी जहाँ बसे पनि, देख्नमा फरक भए पनि सबै मानव जाति एउटै भएकाले हामी फरक देशमा बसेपनि एउटै हौँ भनेर देखाउन यहाँ आइपुगेको बताए । यहाँ सबै जना संयुक्त परिवारमा एकै छतमुनि बस्ने कुरा सुनेका छौँ, उनले भने, “जीवन जिउने तरिका यहाँबाट सिकेर जान्छौँ ।”
विल्ड ओन नेपाल नामक संस्थाको २१ लाख छ हजार ३६१ र विद्यालयको सात लाख ५२ हजार ४५० रूपैयाँको लगानीमा निर्माण हुँदै गरेको भूकम्पप्रतिरोधी शौचालयसहितको तीनकोठे भवनमा श्रमदान गर्न जर्मन टोली यहाँ पुगेको हो । टोलीले स्थानीय बासिन्दाको घरमै बसेर विद्यालय निर्माणमा पाँच दिन श्रमदान गर्ने छ । विदेशी पाहुना टोलीसँगै स्थानीय बासिन्दासमेत विद्यालय निर्माणमा जुटेका छन् ।
विदेशी पाहुनाले यहाँ आइपुगेर श्रमदान गर्न थालेपछि सँगैसँगै भवन निर्माणका लागि हामी पनि जुटेका छौँ, स्थानीय शिवराज भट्टले भने, “हामीमा पनि समाजका लागि योगदान दिनुपर्छ भन्ने भावना जागृत भई ऊर्जाका साथ काममा खटिएका छौँ ।”
पुरुष र महिला पालो मिलाएर विदेशी पाहुना टोलीसँगै श्रमदानमा खटिएको उनले बताए । विद्यालय निर्माणका लागि अभिभावकको आर्थिक अवस्थाले नभ्याउने भएपछि गैरसरकारी संस्थालाई गुहारेका हौँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पन्तले भने, “अभिभावक श्रमदान गर्न इच्छुक देखिएपछि सम्झौता गरी निर्माण प्रारम्भ गरिएको छ ।” विद्यालय भवन निर्माणका लागि श्रमदानसँगै विद्यालयले ढुङ्गा, बालुवा, गिट्टी र काठको जोहो गर्नुपर्ने र दक्ष डकर्मी, प्राविधिक सहयोगसहित अन्य सामग्री संस्थाले उपलब्ध गराउने सम्झौता गरिएको छ ।
विदेशी पाहुना टोलीलाई स्थानीय बासिन्दाको घरमा बस्ने व्यवस्था गरिएको छ । दुई जनालाई एक जना स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको विल्ड अनका फिल्ड संयोजक करवीर विकले बताए ।
विदेशी पाहुनाले स्थानीय बासिन्दाको घरमा बस्दा उनीहरूले खानेकुरा खाने, सीप, रहनसहन र संस्कृतिबारे जानकारी लिने अवसर पाउनेछन् उनले भने, “विदेशीबाट स्थानीय बासिन्दाले संस्कृतिबारे जानकारी लिने र विदेशी पाहुनाले स्थानीय कला संस्कृतिबारे जानकारी लिने अवसर पाउनेछन् ।” कृषिका नयाँ तौरतरिकाबारे विदेशीले यहाँका स्थानीयलाई सिकाउने र यहाँका कृषिबारे विदेशीले ज्ञानसमेत लिनेछन् ।
निर्धारित केही समय विदेशी पाहुनाले श्रमदान गर्ने र बाँकी समय कला संस्कृति, सहनसहनबारे जानकारी लिनका लागि निर्धारित गरिएको छ । विल्ड अन नेपालले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी हालसम्म २४० बढी विद्यालय निर्माण गरेको छ ।
कञ्चनपुरमा मात्रै विपन्न बस्तीमा ३५ विद्यालय निर्माणको कार्य पूरा गरिएको विल्ड अनका इञ्जिनीयर गोकुल जोशीले बताए । शुक्लाफाँटा नगरपालिकामा मात्रै विल्डअनले आधा दर्जन बढी विद्यालय भवन निर्माण गरेको छ । रासस