गभर्नरको बैङ्करप्रति आक्रोश, निक्षेप नबढाई लगानी गर्नेलाई कारबाही

अब ऋण प्रवाह गर्दा संयमित हुनुहोस्, राष्ट्र बैंकले गर्ने सहयोगका लागि हामी तयार छौं तर भनेजस्तो भएन भने क्षमा हुँदैन

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले असन्तुलित रुपमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तिय संस्थालाई कारवाही गर्ने चेतावनी दिएका छन् । निक्षेपभन्दा बढि लगानी गरेर समस्या निम्ताउने बैंक नसुध्रिए कडा कारवाही गर्ने चेतावनी दिएका हुन् ।

मंगलबार ग्लोबल आइएमई बैंकको कमललादीमा कर्पाेरेट कार्यालय उद्घाटन गर्दै गभर्नर नेपालले बैंकरहरुले सञ्चालकलाई खुसी पार्नका लागि काम गर्दा अहिलेको समस्या आएको बताए । ‘१०६ अर्ब निक्षेप संकलन गरेर १६७ अर्ब रुपैयाँ लगानी भएको अवस्था छ यहि कारणले क्रेडिट क्रञ्जको अवस्था आएको हो,’ उनले भने । अब पनि यस्तै अवस्था रहे केन्द्रिय बैंकले कारवाही गर्ने उनले बताए ।

निक्षेप संकलन नबढाई लगानी मात्र भएकाले बैंकहरु गम्भिर हुनुपर्ने गभर्नर नेपालले बताए । ‘अब ऋण प्रवाह गर्दा संयमित हुनुहोस्, राष्ट्र बैंकले गर्ने सहयोगका लागि हामी तयार छौं तर भनेजस्तो भएन भने क्षमा हुँदैन,’ आक्रमक शैलीमा उनले भने ।

गभर्नर नेपालले ३२८ अर्ब रुपैयाँ बचतमा रहेको र ४१ ऋर्ब अधिक तरलता रहेका बताउँदै अर्थ मन्त्रालयसँग राष्ट्र बैंकले परामर्श गरेर काम गरिरहेको बताउँदै बैंकले पनि निक्षेप संकलनमा जोड दिनुपर्ने बताए । ‘६० प्रतिथशत जनसंख्या बैंकिङ पहुँचबाहिर छन्, त्यो ठाउँमा पुगेर निक्षेप बढाउनुहोस् र त्यसैअनुसार ऋण दिनुहोस्,’ उनले भने । ‘यदि निक्षेप संकलन गर्न नसके चुपचाप बस्नुस्, ऋण प्रवाह पनि बन्द गर्नुस्’