वातावरण प्रदूषणका कुरा, जीवजन्तुका कुरा नेपालको मात्र ठेक्का हैन । दुनिया भौतिक विकासको उपल्लो तहमा पुगेको बेला हामी चाहिँ एउटा रुख काट्नु भनेको मान्छे मार्नु जस्तो हो भन्ने विवाद ल्याएर विरोध गरिरहेका छौं । यो एयरपोर्ट बनाउन नदिने मान्छेहरुको विरोध हो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको लाइफलाइन हो । तराई, पहाड र हिमाललाई जोड्ने एक बलियो आधार निजगढ हुन सक्छ । नेपालको मुख्य व्यापारिक केन्द्र निजगढ हुन सक्छ । निजगढबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ४५ मिनेट छिटो विश्वका विभिन्न गन्तव्यमा पुग्न सकिन्छ । यो साउथ एसियाकै सबैभन्दा आकर्षक विमानस्थल हुनेछ । यो एयरपोर्ट बनाउनु पर्छ, कत्ति पनि ढिला गर्नुहुन्न ।
मुलुकको आर्थिक समृद्धिका लागि यो महत्त्वपूर्ण पूर्वाधार हो । यसलाई जतिसक्दो छिटो र समयमै बनाउन नागरिकस्तरबाट दबाबको खाँचो छ । यो वा त्यो बहाना देखाएर एयरपोर्ट बनाउन नदिने खेललाई परास्त पार्नुपर्छ ।
यो एयरपोर्ट बन्यो भने नेपालको अर्थतन्त्र उकालो ग्राफतिर लाग्छ भन्ने डरले कोही कसैले प्रायोजितरुपमा एयरपोर्ट बन्न नदिने खेल सुरु गरेका हुन् । त्यस्तो नकारात्मक कार्यको नागरिक समाज, सञ्चारक्षेत्र, राजनीतिक दललगायत सबैले भण्डाफोर गर्नु आवश्यक छ ।
कोरियन कम्पनी ल्यान्डमार्कले सार्वजनिक गरेको प्रतिवेदनमा एयरपोर्ट सिटीसहितको अवधारणामा ७ खर्ब रुपैयाँको योजना सार्वजनिक गरेको छ । म आपूm मन्त्री हुँदा एयरपोर्ट सिटी हटाएर १ खर्ब ५० अर्बको लागतमा निजगढ विमानस्थल बनाउन सकिन्छ भनेर एउटा योजना तयार गरेको थिएँ, जुन नेपाली लगानीमै बनाउन सकिन्छ र नेपालको क्षमताभित्र पर्छ । र यो नेपालकै पुँजीले बनाउनु पर्छ ।
ल्यान्डमार्कले निकालेको प्रतिवेदनमा धेरै रुख काटिन्छन् भनिएको छ । त्यो गलत हो । विश्वका धेरै देशमा एयरपोर्टसँगै एयरपोर्ट सिटी छैनन् । एयरपोर्ट सिटी निर्माण गर्ने भनेर ७ खर्ब राखिएको हो । ल्यान्डमार्कले बनाएको प्रतिवेदनमा विमानस्थल नबनाउनका लागि के के कुरा चाहिन्छ सबैकुरा उल्लेख गरिएको छ ।
विमानस्थल बनाउन रुख काट्नै पर्छ । तर अहिले रुख काट्न हुन्न, वातावरण विनाश हुन्छ भन्ने आवाजहरु पछिल्ला समय धेरै उठ्न थालेका छन् । पञ्चायत व्यवस्था खारेज गरेर बहुदल ल्याउँदा ३९ प्रतिशत जङ्गल थियो । अहिले सामूदायिक वन ४६ प्रतिशत पुगेको छ । कुल वन क्षेत्रफलमध्ये निजगढलाई आवश्यक पर्ने रुख काट्दा शून्य दशमलव शून्य प्रतिशत पनि रुख काटिइँदैनन् । अनि विरोध किन ? वातावरण प्रदूषणका कुरा, जीवजन्तुका कुरा नेपालको मात्र ठेक्का हैन । दुनिया भौतिक विकासको उपल्लो तहमा पुगेको बेला हामी चाहिँ एउटा रुख काट्नु भनेको मान्छे मार्नु जस्तो हो भन्ने विवाद ल्याएर विरोध गरिरहेका छौं । यो एयरपोर्ट बनाउन नदिने मान्छेहरुको विरोध हो ।
नेपालको माया गर्नु हुन्छ, नेपालको प्रगति चाहनुहुन्छ, नेपालको आर्थिक समृद्धि चाहनुहुन्छ, हवाई क्षेत्र विस्तार गर्न चाहनुहुन्छ तथा कसैको भूमि प्रयोग नगरी आकाशको प्रयोग गरी अन्तर्राष्ट्रिय उडान गर्न चाहनु हुन्छ भने निजगढ विमानस्थल बनाउनु पर्छ । जजसले विभिन्न कोणबाट विरोध गर्छन् र प्रश्न गर्छन्, म उनीहरुलाई भन्न चाहन्छु, ‘कसैको प्रायोजित भरिया नबन्नुस् ।’ म पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई भन्न चाहन्छु, ‘त्यहाँको रुख काटेर काम अगाडि बढाउनुुस् र त्यही रुख बेचेर आएको पैसा विमानस्थल निर्माणमा खर्च गर्नुस् ।’ बूढा र थोत्रा रुख हटाउँदा वातावरणमा केही प्रभाव पर्दैन् । निजगढ विमानस्थलको विरोधमा उत्रनेहरु नेपालको सार्वभौमिकता र आर्थिक समृद्धि नचाहनेहरु हुन् र कुनै प्रायोजकको पछि लाग्नेहरु हुन् । त्यसकारण प्रधानमन्त्री र पर्यटन मन्त्रीलाई म गम्भीर आग्रह गर्न चाहन्छु, ‘खुट्टा नकमाई विमानस्थलको काम अगाडि बढाउनुस् ।’
विमानस्थल निर्माणका लागि बाह्य लगानी खोज्न आवश्यक छैन । नेपाली पुँजीले बनाउनु पर्छ । यो ६ वर्षमा लगानी गर्नुपर्ने खर्च हो । वार्षिक २५ देखि ३० अर्ब खर्च लाग्छ । यो नेपाल सरकारले नै लगानी गर्न सक्छ । त्यसैले ढिला नगरी कामलाई अगाडि बढाउनुको विकल्प देख्दिनँ ।