दशकपछि नहर मर्मत

अत्रौली पुट्टार जल उपभोक्ता समितिको पहलमा नहर मर्मत कार्य थालिएको हो । पुट्टारफाँट तनहुँ जिल्लाको अन्नको भण्डार मानिन्छ । यहाँका खेतमा अन्नबाली र तरकारी उत्पादन गरी बासिन्दाले पर्याप्त आम्दानी गर्दै आएकामा जगैदेखि नहर भत्केपछि उनीहरूले धान लगाउने खेतमा मास र बोडी लगाउने गरेका थिए ।

एक दशकसम्म बन्द रहेको नहर बल्ल मर्मत गर्न थालिएको छ । तनहुँको घिरिङ गाउँपालिकास्थित अत्रौली पुट्टार सिँचाइ आयोजनाको नहर एक दशक अघि पहिरोले भत्काएको थियो ।

नहर भत्केपछि यहाँका बासिन्दा खेतमा सिँचाइ गर्नबाट वञ्चित हुँदै आएकामा अहिले नहर निर्माण अन्तिम चरणमा पुगेपछि खुशी भएका छन् । “खेतीयोग्य जमीन सबै बाँझो भइसकेको थियो”, स्थानीयवासी उमा भट्टराईले भनिन्, “नहर बनेपछि जमीन पहिलाको जस्तै हराभरा बनाउँछौँ।” नहरको अवस्था हेर्दा स्थानीयवासीले पहिलाको जस्तै खेत सिँचाइ गर्न पाइएला भनेर कल्पनासमेत गरेका थिएनन् ।

अत्रौली पुट्टार जल उपभोक्ता समितिको पहलमा नहर मर्मत कार्य थालिएको हो । पुट्टारफाँट तनहुँ जिल्लाको अन्नको भण्डार मानिन्छ । यहाँका खेतमा अन्नबाली र तरकारी उत्पादन गरी बासिन्दाले पर्याप्त आम्दानी गर्दै आएकामा जगैदेखि नहर भत्केपछि उनीहरूले धान लगाउने खेतमा मास र बोडी लगाउने गरेका थिए ।

धान बालीका लागि अत्यन्तै उर्बरशीलभूमि रहेको यस पुट्टारफाँटमा नहरमा पानी आउँदासम्म प्रशस्त धान फल्ने गरेकाले स्थानीयवासी यसकै भरमा जीविका लाउँदै आएकोे कृषक भट्टराई बताउँछिन् । “नहरको जगबाटै पहिरो गएपछि सबै जमीन बाँझै रह्यो” उनी भन्छिन्, “अहिले नहर मर्मत धमाधम भइरहेको छ, अब बाँझो भएका जमीन सदुपयोग हुने भएपछि निकै खुशी लागेको छ । ”

वैदेशिक रोजगारमा रहेका सोही ठाउँकै टीका सिग्देल अहिले नहर मर्मत भई पानी आउने आशाले गाउँमै बसेर कृषि व्यवसाय गर्न थालेका छन् । दश वर्ष वैदेशिक रोजगारमा रहेका उनी छुट्टिको समयमा घर आएको बखत नहर मर्मतको काम भइरहेको देखेपछि अन्ततः वैदेशिक रोजगारी छाडेर कृषि व्यवसाय शुरु गर्न लागेका हुन् ।

अठार वर्षको उमेरदेखि वैदेशिक रोजगारमा गएका अर्का व्यक्ति विजय भट्टराई भन्छन्, “गाउँमा नहर मर्मतको काम भइरहेको छ भन्ने कुरा विदेशमै थाहा पाएँ, अब काम अन्तिम चरणमा पुगेकोे भन्ने थाहा पाएपछि कृषि व्यवसाय गर्ने मनसायले घर फर्किएँ ।”

“जग्गा प्रशस्त छ तर सिँचाइ छैन, खेतीयोग्य जमीन बाँझिएका छन्, दुई चार पैसा कमाउनकै निम्ति विदेशिएको थिएँ, अब नहरको काम राम्रो हुँदै गएको छ, थोरै भए पनि नहरबाट यसै वर्षदेखि पानी बग्न थालेको छ”, उनले भने । भट्टराईले १७ वर्ष वैदेशिक रोजगारीमा बिताएका थिए ।

विसं २०५१ देखि यहाँ नहर सञ्चालनमा आएको थियो । नहरमा प्रशस्त पानी आउँदा पुट्टारफाँटका खेत बाहै्र महीना हरियाली हुने गरेको स्थानीयवासी कमलप्रसाद अधिकारी बताउँछन् ।“नहरमा पानी आएपछि पहिले यहाँका कृषकले खेती लगाएर नै जीविकाेपार्जन गर्थे, बीचमा नहर बन्द हुदा हरियाली बनेका खेत बाँझिए” अधिकारी भन्छन् “अहिले नहरको मुहानदेखि पुछारसम्मका सबैजसो भागमा मर्मत गरिएको छ । ”

भीमाद नगरपालिकाअन्तर्गत डुम्रीबेँसीदेखि झण्डै १८ किलोमिटर लम्बाइ रहेको सो नहरबाट यसअघि घिरिङ गाउँपालिकाका बैडी, अत्रौली, पुट्टार क्षेत्रको करीब छ हजार ६०० रोपनी जमीन सिञ्चित हुने गरेको थियो । बैडी र अत्रौली क्षेत्रमा सानो मात्रामा पानी आए पनि पुट्टार क्षेत्रमा सिँचाइका लागि पानी नआएको दश वर्ष भयो । नहरबाट लाभान्वित ८६० घरधुरीमध्ये पुट्टारफाँट क्षेत्रका करीब तीन हजार ५०० रोपनी जमीनमा दश वर्षअघिदेखि नहर भत्किँदा यहाँका कृषक मारमा परेका थिए ।

जलस्रोत मन्त्रालय, सिँचाइ विभाग र अत्रौली पुट्टार जल उपभोक्ता समिति तनहुँबीच २०७२ सालमा सम्झौता भर्इ सीएम आर्इए एसपी एफको आर्थिक सहयोगमा विसं २०७२ माघदेखि रायमाझी कन्स्ट्रक्सन प्रालिले नहर मर्मतको काम थालेको सो आयोजनाका अध्यक्ष रामजी अर्याल बताउँछन् । नहरको काम करीब ६५ प्रतिशत सम्पन्न भइसकेको छ । विसं२०७६ जेठ २० भित्रमा आयोजनाको काम सम्पन्न गर्ने अन्तिम समय रहेको उनको भनाइ छ । बाह्र अाेटा शाखा रहेको सो नहर १३ करोड रूपैयाँको लागतमा मर्मत हुन लागेको हो । –सुशीला रेग्मी/रासस