एकै ठाउँमा रहेका दुई संस्थाले एउटै मितिमा मेला र महोत्सव गर्न लागेको सम्भवतः पोखरामा यो पहिलोपटक हो ।
पोखरामा एउटै मितिमा दुईओटा मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला लाग्ने भएको छ ।
त्यस्तै युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा आठौँ पोखरा महोत्सव हुने भएको छ । नयाँबजार र अमरसिंहचौरको दूरी झण्डै दुई किमीमात्रै छ । एकै ठाउँमा रहेका दुई संस्थाले एउटै मितिमा मेला र महोत्सव गर्न लागेको सम्भवतः पोखरामा यो पहिलोपटक हो ।
‘लगानीको संवद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको व्यापार मेला दुई लाख दर्शकले अवलोकन गर्ने र मेलामा रु ९० लाख आम्दानी र रु ६० लाख खर्च भई रु ३० लाख बचत हुने अपेक्षा गरेको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए ।
त्यस्तै अमरसिंहचौरमा हुन लागेको पोखरा महोत्सवको मूल नारा ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने छ । दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा रु एक करोड १४ लाख आम्दानी तथा रु ७९ लाख खर्च भई करिब रु ३५ लाख बचत हुने क्लबका अध्यक्ष शुकबहादुर गुरुङले बताए ।
पोखरा उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य प्रायोजन लक्ष्मी समूह हो भने पोखरा महोत्सवको मुख्य प्रायोजन सालिमार सिमेन्टले गर्दैछ ।