पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन

प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक समितिले माग भएका योजनालाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको हो ।

ओखलढुङ्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा चार करोड रूपैयाँ बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक समितिले माग भएका योजनालाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको हो ।

सदरमुकाममा सम्पन्न सांसद र स्थानीय सरकारका प्रमुखको भेलामा प्राप्त मागका विषयमा छलफल भएको थियो । निर्देशक समितिको छलफल र परामर्श समितिको सुझावका आधारमा प्रदेश र स्थानीय सरकारले अघि बढाउने योजनामा नदोहोरिने गरी पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि चार करोड बजेट विनियोजन गरेको सांसद सुनुवारले जानकारी दिए । उनका अनुसार अहिलेको बजेटले सम्बोधन नभएका माग र आवश्यकता पहिचान गरेर प्रदेश र स्थानीय तहको बजेटबाट सम्बोधन गर्ने विषयमा निर्देशक समितिका सदस्यबीच सहमति भएको छ ।

सङ्घीय संसद्का लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा २०० भन्दा बढी साना ठूला योजनाको माग आएका थिए । त्यसमध्ये २० योजना छनोट गरेर बजेट छुट्याइएको छ । “माग असीमित छन्, तर २० योजना मात्रै छान्नुपर्ने हाम्रो नीतिगत बाध्यता थियो”, सांसद सुनुवारले भने, “आएका माग र देखिएका आवश्यकतालाई हामी तीन अाेटै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि मिलेर सम्बोधन गर्छौैँ ।”

चालू आर्थिक वर्ष बजेट सडकमा बढी छुट्याइएको छ भने केही रकम विद्यालयको पूर्वाधार निर्माण र सदरमुकाममा निर्माणाधीन श्रष्टापार्कलाई पनि सम्बोधन गरिएको छ ।