चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । अहिले भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ ।
नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुई वर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ अाेटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेशन थिएटर) रहने छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । अहिले भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ ।
भवनभित्र पोष्ट अपरेटिभ, ४० शैय्याको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय रहने छन् । यसैगरी ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवामैत्री भवन बन्ने न्याम्सले जनाएको छ । नेपाल सरकारको तीन अर्ब ८५ करोड रूपैयाँको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । विनाशकारी भूकम्पले क्षति पुर्याएको न्याम्सअन्तर्गतको नर्सिङ कलेजको पुरानो भवनको संरचना भत्काई सोही स्थानमा शल्यक्रिया भवन निर्माण गर्न लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विस २०७४ फागुन २५ गते सो भवनको शिलान्यास गर्दै निर्धारित समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए “सबै रोगका उपचार स्वदेशभित्रका अस्पतालबाट सर्वसुलभ हुन्छ । यस कार्यलाई सरकारले उच्च प्राथमिता दिएको छ । स्वास्थ्य क्षेत्रका चिकित्सक, जनशक्ति, औषधि तथा भौतिक पूर्वाधार तयार गर्न रकमको अभाव हुने छैन ।”
विसं १९४७ मा १५ शैय्याबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० शैय्याको छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबिबिएस, एमडीलगायत विभिन्न तहमा उच्च शिक्षा पठानपाठन तथा तालिमका कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन् ।
नाम्सको कुलपति पद खाली भएको पाँच महिना बितिसकेको छ । एक कर्मचारीका अनुसार अहिले कुलपति नहुँदा दैनिक कार्य सञ्चालनमा समेत अप्ठ्यो परिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेल विभिन्न प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि मन्त्रीसमक्ष सिफारिस भैसकेकाले छिटै पदपूर्ति हुने बताउँछन् ।
वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० शैय्यासम्मको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायतका पूर्वाधार तयार गर्दैछ । सरकारी स्तरमा पहिलो पटक हेलिप्याडको सुविधा समेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिए । आगामी पाँच वर्षभित्र भौतिक संरचनाका काम सम्पन्न गर्ने गरी भवन निर्माण भइरहेको छ ।
वीर अस्पताल सेवा विस्तार
केन्दीय अस्पतालले दिँदै आएको चिकित्सकीय सेवा विस्तार गर्दै जाने स्वास्थ्य मन्त्रालयको नीतिअनुसार वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट गत असोज २४ गतेदेखि आफ्नो सेवा थालनी गरेको छ । बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) बाट सेवा सुरु गरेको अस्पतालले क्रमशः शल्यक्रिया सेवा दिँदै जाने जनाएको छ ।
अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले सो स्थानमा नाम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृत समेत दिएको जानकारी दिए । ओपिडी सेवा बिहान ९ वजेदेखि ५ बजेसम्म सञ्चालन भैराखेको उनले जानकारी दिए । थप उपचार गर्नुपरेमा वीर अस्पतालमा अर्काे टिकट लिन नपर्ने व्यवस्था अस्पतालले मिलाएको छ ।
स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा भौतिक संरचना गर्न करीब ५७० रोपनी जमिन उपलब्ध गराएको थियो । निर्देशक प्राडा बस्नेतले भने “ओपिडी सेवा प्रदान गर्न आवश्यक मेडिकल अधिकृत, नर्स, अहेबसहित आवश्यक कर्मचारीको व्यवस्था मिलाएका छौँ । आवश्यकताअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा उपकरणको व्यवस्था मिलाउँदै जान्छौँ । ”
पछिल्लो समय स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता राखेको छ । सो स्थानमा भौतिक संरचनालगायतका कामको सुरुवात गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार ३० करोड रकम विनियोजन समेत गरेको छ । – विष्णु नेपाल/रासस