‘डिपोजिट गर्नेलाई पालो दिनुस्, चेकलाई पैसा छैन एकछिन !’

यस्तो समस्या कहिलेकाँही आउने सम्भावना रहन्छ । तर, बैङ्क व्यवस्थापनले यस्ता समस्यालाई ग्राहकले अनुभव नगर्नेगरी समाधान गर्न सकेमा मात्रै बैङ्कको अस्तित्व कायम रहन्छ ।

चितवनका विपिन खत्री नेपाल इन्भेस्टमेन्ट बैङ्कको नयाँ बानेश्वर शाखामा सोमबार दिउँसो साढे २ बजेतिर एक लाख रुपैयाँको अर्कैको चेक बोकेर पैसा साट्न लाइनमा बसेका थिए । उनको पालो आउँदा भने उनलाई एकछिन पर्खन लगाइयो र काउन्टरबाट निर्देशन आयो, ‘नगद जम्मा (डिपोजिट) गर्ने पहिला आउनुहोस् त, पैसाका अलि समस्या छ ।’ त्यसपछि बैङ्कका सुरक्षा गार्डहरुले धमाधम डिपोजिट गर्नेलाई अघि बढाए र चेक साट्नेलाई पैसा छैन भन्दै कुराए । यसरी कुर्ने खत्री मात्रै थिएनन् त्यहाँ पचास जना व्यक्ति चेक बोकेरै कुरिरहेका थिए । बैङ्कले निक्षेप राख्न आउनेलाई पालो दिइरहेको थियो ।

नबिल बैङ्कको नयाँ बानेश्वर शाखामा ५ लाख रुपैयाँको चेक लिएर गएका पुरानो बानेश्वरका हरिभक्त त्रिपाठीलाई आफ्नो रोलक्रम आएपछि नै पैसा लिन आधा घन्टाभन्दा बढी समय लाग्यो । उनको रोलक्रमपछि पाँच जनाले पालो पाउँदा पनि उनले पैसा पाएनन् । यस्तो भए त के बैङ्कमा पैसा राख्नु भनेर उनी गुनासो गर्दै थिए । घरि उनलाई सही मिलेन त घरी यो खाता यहाँको होइन ‘भेरीफाई’ गर्न खाता भएकै शाखामा पठाएका छौं भनेर काउन्टरका कर्मचारीले सम्झाइरहेका थिए ।

यो समस्या इन्भेस्टमेन्ट बैङ्क र नबिलको नयाँ बानेश्वर शाखाको मात्र होइन । बैङ्क अफ काठमाण्डू र जनता बैङ्कको नयाँ बानेश्वर शाखामा पनि यस्तो समस्या थियो । त्यसैगरी कुमारी बैङ्कको न्यूरोड शाखामा पनि यस्तो समस्या देखिन्थ्यो । चेक लिएर आउनेले पैसा प्राप्त गर्न केही समय कुर्नुपर्ने अवस्था थियो भने निक्षेप राख्न आउनेले पालो पाइरहेका थिए । पैसा जम्मा गर्ने तथा झिक्नका लागि रोलक्रममा (टोकन) भएका बैङ्क शाखामा पनि पैसा दिनुपर्दा अलमल गर्ने र ग्राहकलाई केही समय पर्खिन लगाई अर्को रोलक्रमको व्यक्ति पर्खाउने गरिएको थियो । पछिल्लो समय वित्तीय क्षेत्रमा तरलता (लगानीयोग्य रकम) अभाव भएपछि बैङ्कहरुलाई ठूलो रकम भुक्तानीमा नै समस्या देखिएको यो उदाहरण मात्र हो ।

राजधानीका मुख्य शाखामै यस्तो समस्या छ भने भित्री शाखा र अन्य क्षेत्रमा बैङ्कका ग्राहकले कस्तो व्यवहार भोगेका होलान् अनुमान गर्न सकिन्छ । अधिकांश बैङ्कहरुले स–साना चेक तुरुन्तै साटेपनि ठूलो रकमका चेक साट्न भने विभिन्न बहाना बनाएर ढिलाइ गर्न थालेका छन् । बैङ्कहरुमा नगद झिक्दा यस्तो समस्या पटक पटक आउने गरेको छ । खासगरी तरलता सङ्कट भोगिरहेको बेला यस्तो समस्या बारम्बार आउने गरेको छ ।

यस्तो समस्या कहिलेकाँही आउने सम्भावना रहन्छ । तर, बैङ्क व्यवस्थापनले यस्ता समस्यालाई ग्राहकले अनुभव नगर्नेगरी समाधान गर्न सकेमा मात्रै बैङ्कको अस्तित्व कायम रहन्छ । सम्बन्धित संस्थाका कर्मचारीले ग्राहकसँगको सम्बन्धमा थोरै मात्र पनि गडबडी गरे पनि निक्षेपकर्तामा डर पैदा हुन्छ । त्यति बेला उनीहरु आफ्नो निक्षेप झिक्न लाइनमा बसे भने जतिसुकै राम्रो भनिएको बैङक पनि समस्यामा फस्छ । यसतर्फ बैङ्कहरुले समयमै चनाखो भई नगद व्यवस्थापन गर्नुपर्छ । अन्य समयमा भन्दा तरलता सङ्कट भएका बेला बैङ्कहरु अझै सचेत हुनुपर्ने आवश्यकता छ ।

कतिपय बैङ्कका एटीएम काउन्टरमा पर्याप्त पैसा नराख्ने गरेको आरोप ग्राहकले लगाउन थालेका छन् । सानो सानो रकम लिन पनि एटीएम काउन्टर चहार्दै हिँड्नु पर्ने अवस्था भएको ग्राहकहरुको गुनासो छ ।