चार वर्षभित्र आठ हजार किलोमिटर सडक पिच गरिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अगामी दिनमा विकास निर्माणको काम तीव्र हुने भन्दै चार वर्षभित्र कम्तीमा ६ हजार किलोमिटर सडक पिच हुने बताएका हुन् ।

सरकारले चार वर्षभित्र छ हजारदेखि आठ हजार किलोमिटर सडक पिच गर्ने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अगामी दिनमा विकास निर्माणको काम तीव्र हुने भन्दै चार वर्षभित्र कम्तीमा ६ हजार किलोमिटर सडक पिच हुने बताएका हुन् ।

बिहीबारदेखि सुरु भएको कनम्याक हेभी इक्युप्मेन्ट प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री महासेठले भौतिक संरचनालगायत विभिन्न विकास निर्माणको काम गर्दा मेसिन तथा टेक्नोलोजीबिना देशको विकास हुन नसक्ने बताए ।

उनले विकास निर्माणमा नयाँ प्रविधि प्रयोग गर्न निर्माण व्यवसायी महासङ्घलाई सुझावसमेत दिए । हेभी इक्युपमेन्ट बिक्री वितरण गर्दै आएका व्यापारी तथा निर्माण व्यवसायीका लागि कोनम्याक प्रदर्शनीबाट ठूलो मौका तथा महत्त्वपूर्ण लाभ लिन सक्ने उनको तर्क छ ।

नेपालमा अब देश विकासको एजेन्डामात्र बाँकी रहेको बताउँदै उनले अब त्यो सपना पनि छिटै पूरा हुने बताए । ‘विकासको एजेन्डाबाहेक नेपालीलाई अन्य कुनै पनि कुरा चाहिएको छैन,’ उनले भने, ‘अहिलेको जुन समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर हिडेका छौं, यो सपना साकार पार्न विकास निर्माणकै काम अत्यावश्यक छ ।’ उनका अनुसार पूर्वाधार विकास निर्माणमा सरकार अघि बढिसकेको र अब जनतालाई काम गरेर देखाउने समय आएको छ ।

जलमार्ग तथा रेलमार्गका लागि छिमेकी मुलुक चीन र भारतसँग समन्वय भइसकेको र जलमार्ग जोड्न नेपाल र भारत दुई देशका प्राविधिक कमिटीले नेपालमा काम थालिसकेको महासेठले बताए । ‘हजार किलोमिटरभन्दा बढीको रेलमार्गको डीपीआर तयार हुने क्रममा छ,’ उनले भने ।

महासेठले मुलुकको विकास र विकास निर्माणका कार्यका लागि सरकार, भैतिक मन्त्रालय र व्यक्तिगततर्फबाट के कस्ता सहयोग गनुपर्ने हो, त्यसका लागि आफू सदैव तयार रहेको उल्लेख गरे ।

त्यस अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले नेपालको विकास निर्माणमा आर्थिक, सामाजिक तथा राजनीतिक सहयोगका लागि भारत सदैव तयार रहेको बताए ।