तल्लो मोदीखोलाको जलविद्युत् उत्पादन पुसभित्रै

आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ/दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो । आयोजनाले ६० महीनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको भए पनि दुई वर्ष बढी समय लागेको हो ।

पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ ।

आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ/दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो । आयोजनाले ६० महीनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको भए पनि दुई वर्ष बढी समय लागेको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार अब सामान्य फिटिङ्सको कामबाहेक सबैजसो काम सकिएको छ । “पुसभित्रै उत्पादन शुरु गर्ने तयारी भइरहेको छ । अहिले उत्पादनगृह, सुरुङ र हेडबक्समा फिनिसिङको काम धमाधम चलिरहेको छ” उनले भने ।

वर्षामा पहिरो जाने, भासिने र आयोजनास्थल भित्रै बाढी पस्नेजस्ता प्राकृतिक समस्याले सुरुङ निर्माण कार्यमा अवरोध उत्पन्न भएकाले केही ढिलाइ भएको हो । त्यसपछिको समयमा पनि अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो । “गएको वर्ष सबैभन्दा धेरै अपेक्षा गरेका थियौँ”, उनले भने, ‘त्यही बेलामा चुनाव भएका कारणले पनि काममा समस्या आएको हो । असार मसान्तसम्म उत्पादन दिने लक्ष्य पनि पूरा हुन सकेन, अब पुसभित्रै उत्पादनलाई राष्ट्रिय प्रसारणमा जोड्नेछौं ।’

आयोजनाको अहिले करीब सम्पूर्ण काम पुरा भएको छ । एक/दुई प्रतिशत सामान्य काममात्र बाँकी रहेको जनसम्पर्क अधिकृत बेलवासेले बताए । सिभिलतर्फको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनले पनि अधिकांस काम पूरा भएको जनाएको छ । आयोजनाले अघिल्लो आर्थिक वर्षमा भने लक्ष्यअनुसारै काम भएको जनाएको छ । शुरुका वर्षहरूमा भूकम्प र नाकाबन्दीले असर गरेकाले त्यसको प्रभाव अझै देखिए पनि अघिल्लो वर्षमा विगतको तुलनामा धेरै काम भएको बेलवासेले बताए । ‘निर्माण कार्यमा केही ढिलाइ हुँदा निर्धारित समयभन्दा आयोजनाको काम लम्बिएको हो,’ उनले भने ।

रु।तीन अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा निर्माण शुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढ्ने भएको छ । ०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको आयोजनाको निर्माण कार्य एक वर्ष ढिला भएको थियो । आयोजनाको वार्षिक र११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको इञ्जिनीयरिङलगायत निर्माणको ठेक्का मनाङ ट्रेडलिङ्क र साउथ एसियन इन्फ्रास्ट्रक्चरले गरिरहेका छन् ।

सेयर निष्कासन

यसैबीच तल्लो मोदीखोला जलविद्युत आयोजनाको प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । आयोजनाको आइपिओ (प्रारम्भिक शेयर निष्काशन)सम्बन्धी कार्यका लागि मोदी इनर्जी कम्पनी र बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर समेत भैसकेको छ । कम्पनीका तर्फबाट सञ्चालक कुमुदकुमार दुगड तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौँले प्रतिसाधारण शेयर एक सय रुपैयाँ दरमा र। ४२ करोड रुपैयाँ बराबरको रु।४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । रासस