तामाकाेसीमा ऋण खोजेर सेयर भरेका स्थानीयको पैसा अझै फिर्ता भएन

दोलखा फस्कु घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आएका बासु कार्कीले तामाकोसीको सेयर आवेदन दिन सहकारीबाट १ लाख २० हजार रुपैयाँ ऋण लिए । त्यो पनि १६ प्रतिशत ब्याज तिर्ने सर्तसहित ।

परिवारका चार जनाको सेयर आवेदनबापत उनले सनराइज क्यापिटललाई १ लाख २० हजार रुपैयाँ बुझाए । प्रतिव्यक्ति ३ सय कित्ताका दरले चार जनाको नाममा सेयर भरे ।

उनलाई लागेको थियो ‘तामाकोसीले सेयर बाँडफाँट गर्नेबित्तिकै सेयर परेर बाँकी रहेको पैसा आफ्नै खातामा फर्किन्छ र सहकारीको ऋण तिरौँला । तर, सेयर बाँडफाँट भएको करिब १ महिना बितिसक्दा पनि उनको बाँकी रकम फिर्ता आएको छैन ।

उनले सहकारीबाट १ लाख २० हजार रुपैयाँ १ महिनाका लागि ब्याजमा लिएका हुन् । तर, आज चार महिना बितिसक्दा पनि बैङ्कबाट पैसा फिर्ता नआएर चिन्तित मात्र छैनन्, सहकारीको चर्को ब्याजमा पिल्सिरहेका छन् । पैसा आए/नआएको बुझ्न उनी आफ्ना खाता भएको बैङ्क एनसीसीमा चार पटक गइसकेका छन् ।

यस्तै सुन्द्रावती घर भई बानेश्वर बस्दै आएका हरिप्रसाद शिवाकोटीले पनि सेयरमा आवेदन दिनका लागि साहुसँग ऋण गरेका थिए । ३ सय कित्ताका लागि दुई जनाको ६० हजार रुपैयाँ सनराइजमा राखेका उनको पनि हालसम्म पैसा आएको छैन । पैसा आउने आशमा पटक पटक बैङ्क पुगेका उनी खाली हात फर्कनु परेको छ ।

तर, सह बिक्रीप्रबन्धक सनराइज क्यापिटलले भने सबै ग्राहकको पैसा फिर्ता दिइसकेको बताएको छ । सनराइज क्यापिटलकी वित्त प्रमुख अर्चना श्रेष्ठले सबै लगानीकर्ताको पैसा फिर्ता दिइसकेको बताउँदै भनिन्, ‘केही लगानीकर्ताको बाहेक सबै लगानीकर्ताको खातामा पैसा पठाइएको छ । खाता नम्बर नमिलेका लगानीकर्ताको भने पैसा नपठाइएको हो ।’ सनराइज क्यापिटलका अनुसार फेरि एक पटक बैङ्क खाता चेक गर्दा नमिले चेक काटेर आवेदकलाई पैसा पठाइने छ ।

कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि असार १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो । जसको बाँडफाँट कात्तिक १५ गते शुक्रबार भएको थियो । तर, सेयर बाँडफाँट भएको ४ दिनपछि सबै आवेदकको खातामा पैसा जाने बताएको सनराइज क्यापिटलले हालसम्म पनि सबै आवेदकको खातामा पैसा नपठाएको पाइएको हो ।

बिक्री प्रबन्धकमा नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको तामाकोसीको प्राथमिक सेयर (आईपीओ) कात्तिक १५ गते बाडँफाँट भएको थियो । कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि असार १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका खुलाएको थियो ।

अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाएका थिए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका थिए । यस्तै ‘ख’ वर्गका ३० कित्ता माग गर्नेले ३० किता ४० कित्ता माग गर्नेले ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका थिए । ‘ग’ वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र सोभन्दा माथी अवेदन गर्नेले ३४ कित्ता पाएका थिए ।