आयोजनामा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क (एआईआईबी) लगानीका लागि सैद्धान्तिक सहमति जनाइसकेको छ । एआईबीबाट १६ अर्ब रुपैयाँ ऋण लिन अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको छ ।
काठमाडौं : परामर्शदाता ल्याह्मेयर इन्टरनेसनले १ सय मेगावाट क्षमताको तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । ल्याह्मेयरले डीपीआरको मस्यौदा प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडलाई बुझाएको छ । १ महिनाभित्र डीपीआरका सबै प्रतिवेदन बुझाइसक्ने तामाकोसी जलविद्युतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसिवमान प्रधानले बताए । तामाकोसी जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।
आयोजनाको सिभिल निर्माणको काम सन् २०१९ को मध्यबाट सुरु गरी सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यता कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको कामका परामर्शदाता नियुक्त गर्न लागेको छ । परामर्शदाताका लागि तामाकोसीले आसयपत्र (ईओआई) मागेको प्रधानले बताए । आयोजना इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्र्याक्ट (ईपीसी) खाकामा बनाउने तय भएको छ ।
आगामी वर्षको मध्यदेखि आयोजनाको सिभिल निर्माणको काम थाल्न कम्पनीले सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरण आपूर्तिका लागि ठेकेदार चयनको काम सुरु गरेको जानकारी दिएको छ । कम्पनीले ठेकेदार कम्पनीको पनि पूर्वयोग्यता छनोट (पीक्यू का लागि आह्वान गरेको छ ।
आयोजना दुई प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत् प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी सर्वसाधारणलाइ सेयर आईपीओ निष्कासन गर्ने प्रधानले जानकारी दिए ।
आयोजनामा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क (एआईआईबी) लगानीका लागि सैद्धान्तिक सहमति जनाइसकेको छ । एआईबीबाट १६ अर्ब रुपैयाँ ऋण लिन अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको छ ।
हाल निर्माणाधीन माथिल्लो तामाकोसीबाट निस्कने पानी सीधै सुरुङमा पठाएर ९९.८ मेगाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ८ किलोमिटर लामो सुरुङ छ । आयोजना आर्थिक रूपमा आकर्षक देखिएको प्रधानले बताए ।