कारवाहीमा पर्नेमा लक्ष्मी बैङ्क, मेगा बैङ्क नेपाल र कुमारी बैङ्क छन् । राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्षमा पहिलो त्रैमासमा दुई ओटा बैङ्क निसानामा परेका हुन् भने अन्तिम त्रैमासमा एउटा बैङ्क निसानामा परेको हो ।
नेपाल राष्ट्र बैङ्कले आफ्नो निर्देशन कार्यान्वयन नगरेको भन्दै तीन ओटा वाणिज्य बैङ्कलाई कारवाही गरेको छ । खासगरी केन्द्रीय बैङ्कले तोकेको अनुपातमा अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेपछि गत आर्थिक वर्ष (२०७४/७५)मा ती बैङ्कलाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा लक्ष्मी बैङ्क, मेगा बैङ्क नेपाल र कुमारी बैङ्क छन् । राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्षमा पहिलो त्रैमासमा दुई ओटा बैङ्क निसानामा परेका हुन् भने अन्तिम त्रैमासमा एउटा बैङ्क निसानामा परेको हो ।
कारवाहीस्वरुप केन्द्रीय बैङ्कले यी तीन ओटा बैङ्कको सीआरआर नपुगेकोमा १२ लाख १६ हजार ६ सय ९६ रुपैयाँ हर्जाना तिराएको छ । लक्ष्मी बैङ्कले पहिलो त्रैमासमा ५ लाख ४० हजार २ सय २४ रुपैयाँ हर्जाना तिरेको छ भने मेगा बैङ्कले पनि पहिलो त्रैमासमा २ लाख २६ लाख ९ सय ७८ रुपैयाँ तिरेको छ । त्यसैगरी चौथो त्रैमासमा कुमारी बैङ्कले ४ लाख ४९ हजार ४ सय ९२ रुपैयाँ जरिवाना तिरेको छ ।
गत वर्ष बैङ्कहरुले ६ प्रतिशत सीआरआर कायम गर्नुपर्ने व्यवस्था उल्लङ्घन गरेपछि केन्द्रीय बैङ्कले नगद जरिवाना गराएको हो । चालू वर्षको मौद्रिक नीतिमार्फत् भने बैङ्कहरुले न्यूनतम ४ प्रतिशत सीआरआर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कुन अवस्थामा हुन्छ कारवाही ?
एकीकृत निर्देशन २०७५ अनुसार पहिलो पटक अनिवार्य मौज्दात नपुग भएको अवस्थामा नपुग भएजति रकममा प्रचलित बैङ्क दरको प्रतिशतले जरिवाना लगाइन्छ । त्यस्तै दोस्रो पटक अनिवार्य मौज्दात नपुग भएको अवस्थामा नपुग भएजति रकममा प्रचलित बैङ्क दरको डेढी प्रतिशतले जरिवाना लगाइन्छ भने तेस्रो पटक र त्यसभन्दा पछि जति पटक नपुग भए पनि नपुग भएजति रकममा प्रचलित बैङ्क दरको दोब्बर प्रतिशतले जरिवाना गरिने व्यवस्था एकीकृत निर्देशनमा गरिएको छ ।
तर, यसरी कारवाही गर्दा प्रत्येक आर्थिक वर्षका लागि अलग अलग पटक कायम गरिने व्यवस्था छ । जरिवानाको पटक निर्धारण गर्दा १४ दिन (दुई सप्ताह)को मौज्दात गणनालाई एक पटक मानिन्छ । सीआरआर नपुग भएजति रकममा प्रचलित बैङ्क दरको प्रतिशतले दुई हप्ताको हिसाबमा जरिवाना लगाइन्छ भने यसरी नपुग भए जतिको रकमलाई बैङ्क दरको प्रतिशतले गुणा गरी छब्बीसले भाग गरिन्छ ।