वाणिज्य बैङ्कले विदेशी लगानीकर्ताको एजेन्ट हुन पाउने

नेपालमा उद्योगलगायत विभिन्न परियोजनामा लगानी गरेका विदेशी कम्पनीको ऋण असुली र समस्याग्रस्त भएमा धितो लिलामीसम्मको काम गर्न सक्ने छन् ।

काठमाडौं : वाणिज्य बैङ्कले विदेशी लगानीकर्ताको ऋण व्यवस्थापक (एजेन्ट) का रुपमा काम गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बिहीबारदेखि वाणिज्य बैङ्कलाई विदेशी लगानीकर्ताको साँवाब्याज असुली तथा समस्याग्रस्त ऋणीको ऋण व्यवस्थाकको रुपमा काम गर्न अनुमति दिएको छ ।

नेपालमा उद्योगलगायत विभिन्न परियोजनामा लगानी गरेका विदेशी कम्पनीको ऋण असुली र समस्याग्रस्त भएमा धितो लिलामीसम्मको काम गर्न सक्ने छन् । विदेशी लगानीकर्तालाई सहयोग पुर्याउनका लागि एजेन्ट हुन पाउने व्यवस्था गरेको नेपाल राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङानाले बताए । २८ ओटै वाणिज्य बैङ्कले विदेशी लगानीकर्ताको एजेन्ट भई काम गर्न पाउने छन् ।

बैङ्कले शुल्क लिएर मात्र यस्तो काम गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । उद्योग तथा कुनै पूर्वाधार परियोजनामा लगानी गरेका विदेशी कम्पनीको लगानी डुब्ने अवस्था आएमा बैङ्कहरुले उद्धार गर्ने उनले बताए । बैङ्कहरुले परियोजनाको वित्तीय अवस्था, नगद प्रवाह र लगानीलगायत सबै विवरणको जानकारी राख्ने भएका छन् । विदेशी लगानीका कुनै पनि परियोजना डुब्ने अवस्था आएमा पनि वाणिज्य बैङ्कले जिम्मेवारी लिएर कर्जा उठाउन सक्ने छन् ।

विदेशबाट ऋण ल्याउनुअघि केन्द्रीय बैङ्कको स्वीकृति लिनुपर्ने, ऋण स्वीकृत माग गर्दा ऋण व्यवस्थापन, स्क्रोखाता व्यवस्थापन तथा कन्सटोडियन सम्बन्धित त्रिपक्षीय सम्झौता पेस गर्नुपर्ने छ ।