चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण ठप्प

आयोजनामा कार्यरत मजदुरले आन्दोलन गरेपछि बुधबारदेखि निर्माण रोकिएको हो । मजदुर आन्दोलनका कारण सुरुङ, जलविद्युत् गृह, इन्टेकलगायत संरचना निर्माण प्रभावित भएको छ ।

पर्वत । औद्योगिक घराना चौधरी ग्रुपले पर्वतमा निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण दुई दिनदेखि ठप्प भएको छ ।

आयोजनामा कार्यरत मजदुरले आन्दोलन गरेपछि बुधबारदेखि निर्माण रोकिएको हो । मजदुर आन्दोलनका कारण सुरुङ, जलविद्युत् गृह, इन्टेकलगायत संरचना निर्माण प्रभावित भएको छ ।

आयोजनाको सुरुङमा विष्फोटनका लागि माटाको लोला भर्ने काममा संलग्न मजदूरलाई निष्कासनको विरोध गर्दै मजदूरले निर्माण बन्द गराएका छन् । निष्कासन गरिएका छ महिलालाई पुनर्बहाली गर्नुपर्ने माग मजदूर युनियनको छ । आयोजनाले भने सुरुङमा विष्फोटनको काम सकिएको र निर्माण अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा कर्मचारी निष्काशन गरिएको बताएको छ ।

आयोजना प्रमुख निरञ्जनकुमार राउतले काम नभएका कारण असारदेखि नै तलब निकासा नभएकाले दशैँपछि निष्कासन गरिए पनि छलफल गरी समस्या समाधानको प्रयास भइरहेको बताए।

“काम नभएका कारण मजदूर निष्कासन गरिएको हो”, आयोजना प्रमुख राउतले भने, “हामी छलफल र संवादबाट मजदूरलाई वैकल्पिक ढङ्गले व्यवस्थापन गर्ने योजनामा छौँ ।” पर्वतको मोदी गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ४०० मिटर सुरुङ निर्माण सकिएको छ । बाँकी भागमा विष्फोटन नगरी निर्माण अघि बढेको आयोजना प्रमुख राउतले जानकारी दिए ।

आयोजनाको निर्माण विसं २०७१ मङ्सिरदेखि शुरु भएको थियो । आयोजनामा कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर–२ बेतेनीसम्म दुई हजार ६९३ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ ।

यहाँ उत्पादित विद्युत् चार किमी लामो प्रसारण लाइनमार्फत देउपुर–पोखरा १३२ केभी सबस्टेशन देउपुरमा जडान गरिनेछ । उक्त प्रसारण लाइन र सबस्टेशन निर्माणको प्रक्रिया भने भर्खर शुरु भएको छ । आयोजनामा प्राइम बैंकको नेतृत्वमा सात बैंकले लगानी गर्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मोदी गाउँपालिकालाई जलविद्युत् आयोजनाको समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको बताए