आयोजनाले वर्खाको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ ।
काठमाडौं : निजी लगानीमा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । सीईडीबी हाइड्रो फण्ड लिमिटेडको सहायक कम्पनी कसुवाखोला हाइड्रोपावर लिमिटेडले आयोजना बनाउन लागेको हो ।
कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । पीपीए सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाका प्रवन्ध सञ्चालक विनय भण्डारीले हस्ताक्षर गरेका छन् । आयोजनाले वर्खाको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ ।
पीपीए भएकाले आयोजनालाई लगानी जुटाउन सहज भएको सीईडीबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भण्डारीले जानकारी दिए । कसुवा हाइड्रोका प्रवन्ध सञ्चालकसमेत रहेका भण्डारीले आयोजना निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने बताए ।
आयोजना निर्माणका लागि लगानी जुटाउन नबिल बैङ्कसँग छलफल भइरहेको उनले जानकारी दिए । वित्तीय व्यवस्थापनपछि आयोजना निर्माणका लागि काम सुरु हुने छ । संखुवासभामा पर्ने आयोजनाको उचाइ पाँच सय मिटर रहेको छ । आयोजना पिकिङ रन अफ दी रिभर प्रकृतिको छ ।
सीर्इडीबीको अगुवाइमा ४ मेगावाटको राधीखोला सञ्चालन भइरहेको छ । यस्तै दोलखामा ११ मेगावाटको खारेखोला र लम्जुङमा १२ मेगावाटको दोर्दीखोला आयोजना निर्माण गरिरहेको छ । यस्तै ५ मेगावाटको रुकुमगाड आयोजना पनि निर्माणको तयारी थालेको छ । कम्पनीले निर्माण गर्न लागेको कसुवा हालसम्मको ठूलो आयोजना हो ।