दक्षिणी भारतदेखि उत्तरी चीनको केरुङ नाका जोड्ने यो सोझो र छोटो नाका हो । सडक नबन्दा गल्छीदेखि भएपछि रसुवागढी पुग्न ७ घण्टा समय लाग्छ । सडक आयोजना बनेपछि गल्छीदेखि रसुवागढी दुई घण्टामै पुग्न सकिन्छ ।
काठमाडौं : गल्छी—त्रिशूली—स्याफ्रुबेसी—रसुवागढी सडक आयोजनाअन्तर्गत गल्छी—त्रिशूली खण्डमा २६ किमि सडक कालोपत्रेको काम सुरु भएको छ । लामो समय मुआब्जा विवाद, निर्माण सामग्रीको अभाव, स्थानीयको अवरोध, लम्बिँदो प्रक्रियाका कारण अघि बढ्न नसकेको उक्त सडकखण्डमा अहिले धमाधम कालोपत्रे हुँदै छ । सडकखण्डको पिप्लाचार भन्ने स्थानमा दुई किलोमिटर कालोपत्रे भइसकेको आयोजनाले जनाएको छ ।
गत २०७५ जेठमा नेपाली सेनाले गल्छी—स्याफ्रुबेसी सडकखण्डको ट्र्याक खोलिसकेको थियो । ६४ किमिमध्ये १८ किमि स्याफ्रुबेसी—रसुवागढी सडक चिनियाँ सरकारको लगानीमा अघि बढेको छ । आयोजनाले ४६ किमि गल्छी—त्रिशूली—स्याफ्रुबेसी सडकखण्ड मात्रै बनाउनुपर्छ । त्यसमध्ये गल्छी—त्रिशूली खण्डमा टेन्डर गरी असोजदेखि कालोपत्रे थालिएको छ । २०७४ सालमा १० प्रतिशत कालोपत्रे गर्ने लक्ष्य लिए पनि टेन्डर प्रक्रिया र निर्माण सामग्रीको अभावका कारण काम हुन सकेको थिएन ।
यस वर्ष २६ किमि सडक कालोपत्रे गर्ने लक्ष्यअनुसार काम भइरहेको आयोजना प्रमुख सुबोध देवकोटाले बताए । उनका अनुसार आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । मैलुङ—स्याफ्रुबेसी खण्डको १८ किमि सडक कालोपत्रे गर्न टेन्डर प्रक्रिया अघि बढेको उनको भनाइ छ ।
२०७२ फागुनदेखि निर्माण सुरु भएको सडक आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यस वर्ष २६ किमि सडक कालोपत्रे गर्ने र बाँकी सडक अर्को वर्ष सक्ने तयारी छ । कोभेक टुन्डी रसुवा जेभीले सडक कालोपत्रे गर्ने ठेक्का लिएको छ ।
९ अर्ब रुपैयाँ लागत एस्टिमेटमा सुरु भएको सडक आयोजनामा हालसम्म १ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले २५ करोड रुपैयाँ मुआब्जाबापत वितरण गरिसकेको छ । ७ सय जनालाई मुआब्जाबापतको रकम वितरण गरेपछि आयोजना निर्माणका लागि बाटो खुलेको थियो ।
दक्षिणी भारतदेखि उत्तरी चीनको केरुङ नाका जोड्ने यो सोझो र छोटो नाका हो । सडक नबन्दा गल्छीदेखि भएपछि रसुवागढी पुग्न ७ घण्टा समय लाग्छ । सडक आयोजना बनेपछि गल्छीदेखि रसुवागढी दुई घण्टामै पुग्न सकिन्छ ।