वार्षिक २४ प्रतिशत नाफा बढाउने सिद्धार्थ बैङ्कको योजना, ३ वर्षमा ३१८ करोड पुग्ने प्रक्षेपण

२०७७/७८ मा बैङ्कको निक्षेप परिचालन २१ प्रतिशत बढेर १ खर्ब ९० अर्ब २९ करोड रुपैयाँ पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा निक्षेप १ खर्ब १ अर्ब ७४, चालू आर्थिक वर्षमा १ खर्ब २८ अर्ब, आगामी वर्ष १ खर्ब ५७ अर्ब रुपैयाँ पुग्नेछ ।

काठमाडौं : सिद्धार्थ बैङ्कले आउँदो ३ वर्षमा खुद नाफा औसत २४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा नाफा ७१ प्रतिशत बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ । बैङ्कका अनुसार ३ वर्षको अवधिमा नाफा १ अर्ब ३२ करोड ५२ लाख रुपैयाँ थप हुनेछ । अर्थिक वर्ष २०७४/७५ मा बैङ्कले १ अर्ब ८५ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैङ्कले डिबेन्चर निष्कासन प्रयोजनका लागि शुक्रबार सार्वजनिक गरेको आह्वानपत्रमा नाफामा विस्तार हुने देखाएको हो । बैङ्कले चालू आव २०७५/७६ मा २ अर्ब १४ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ । यस्तै आगामी आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ६२ करोड र आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब १८ करोड रुपैयाँ पुग्ने आह्वानपत्रमा उल्लेख छ ।

३ वर्षमा बैङ्कले ब्याज आम्दानी दोब्बर बढाएर २० अर्ब ६३ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । गत अर्थिक वर्षमा बैङ्कले ९ अर्ब ९६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । चालू आर्थिक वर्षमा १३ अर्ब ९६ करोड, आगामी वर्ष १७ अर्ब २५ करोड रुपैयाँ पुग्ने अनुमान बैङ्कको छ ।

नाफामा वृद्धि भएपछि प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि बढोत्तरी हुने बैङ्कले जानकारी दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा ईपीएस बढेर ३७ रुपैयाँ ५० पैसा पुग्ने अनुमान बैङ्कको छ । गत आर्थिक वर्षमा बैङ्कको ईपीएस २१ रुपैयाँ ९१ पैसा, चालू आर्थिक वर्षमा २५ रुपैयाँ ३१ पैसा, आगामी वर्ष ३० रुपैयाँ ९८ पैसा पुग्नेछ ।

२०७७/७८ मा बैङ्कको निक्षेप परिचालन २१ प्रतिशत बढेर १ खर्ब ९० अर्ब २९ करोड रुपैयाँ पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा निक्षेप १ खर्ब १ अर्ब ७४, चालू आर्थिक वर्षमा १ खर्ब २८ अर्ब, आगामी वर्ष १ खर्ब ५७ अर्ब रुपैयाँ पुग्नेछ ।

कर्जा लगानी पनि विस्तार २० प्रतिशत भई १ खर्ब ६३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षमा बैङ्कको कर्जा लगानी १ खर्ब १३ अर्ब र आगामी वर्ष १ खर्ब ३५ अर्ब ७७ करोड रुपैयाँ पुग्ने अनुमान छ । निक्षेप लागत दर ७.८५, निष्क्रिय कर्जा ०.५६ प्रतिशत हुने बैङ्कको अनुमान छ ।

बैङ्कले वार्षिक साढे १० प्रतिशत ब्याज दिने गरी ७ वर्षका लागि एसबीएल डिबेञ्चर निष्कासन गर्ने भएको छ । बैङ्कले मङ्सिर २३ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरका २ अर्ब २५ करोड रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता डिबेञ्चर निष्कासन गर्न लागेको हो ।

डिबेञ्चर निष्कासन बन्द छिटोमा मङ्सिर २६ र ढिलोमा पुस २३ गते हुने निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ । न्यूनतम २५ र अधिकतम १ लाख कित्तासम्म दरखास्त दिन पाइने एनआईबीएलले जानकारी दिएको छ ।