बैठकमा अन्तरदेशीय प्रसारणलाइनका विषयमा छलफल हुनुका साथै विद्युत व्यापारबारे समेत वार्ता हुनेछ । त्यसैगरी नविकरणीय उर्जाक्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी र जिएमआरबाट ५०० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।
काठमाडौं : नेपाल र बङगलादेशबीच उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बंङगलादेशसंग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक काठमाडौंमा बस्न लागेको हो । वैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ । नेपाल–बङगलादेशबीचको संयुक्त ऊर्जा स्थायी समिति (जोइन्ट इनर्जी स्टेरिङ कमिटी) को वैठक सोमबार र मंगलवार बस्ने तय भएको उर्जा मन्त्रीका प्रेस संयोजक रोशन खड्काले बताए ।
बैठकमा सहभागी हुनको लागी बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा महाशाखा हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आइपुगेका छन् ।
नेपालको तर्फबाट भने उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्ने संयोजक खड्काले जानकारी दिए । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकसमेत तय भएको छ । उक्त बैठकमा नेपालका तर्फबाट सहसचिव दिनेश घिमिरेले बैठकको नेतृत्व गर्नेछन् । बङगलादेशका तर्फबाट भने पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले गर्ने भएका छन् ।
बैठकमा अन्तरदेशिय प्रसारणलाइनका विषयमा छलफल हुनुका साथै विद्युत व्यापारबारे समेत वार्ता हुनेछ । त्यसैगरी नविकरणीय उर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङगलादेशले लगानी गर्नेसम्बन्धी र जिएमआरबाट ५०० मेगावाट विजुली बङगलादेशले खरिद गर्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ । मन्त्री पुनको गत सेप्टेम्बरमा भएको बङ्गलादेश भ्रमणमा पनि दुवै देशबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागी छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए ।
मन्त्री पुन उर्जामन्त्रीका रुपमा आईसकेपछि नै बङ्गलादेशसंग उर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । काठमाडौंमा भएको उक्त समझारीमा बङ्गलादेशका तर्फबाट उर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए ।