एनआईसी एसिया बैङ्कको सीईओमा रोशनकुमार न्यौपाने

न्यौपानेको नेतृत्वमा बैङ्कले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटीएम सन्जाल लगायतका परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैङ्कको पहिचान बनाइ सकेका छन् ।

काठमाडौं । एनआईसी एसिया बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैङ्कको आईतबार बसेको ३७९औं सञ्चालक समितिको बैठकले बैङ्कका कामु सीईओ न्यौपानेलाई सीईओ बनाएको हो ।

तत्कालीन सीईओ लक्ष्मण रिसालको राजीनामा स्वीकृत भएपछि न्यौपानेले कामु सीईओको जिम्मेबारी सम्हाल्दै आएका थिए । न्यौपानेको नेतृत्वमा बैङ्कले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटीएम सन्जाल लगायतका परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैङ्कको पहिचान बनाइसकेको बैङ्कका सहायक सीईओ सुधीरनाथ पाण्डेले बताए ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैङ्क अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैङ्कको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गरिसकेका छन् ।