सेयर ब्रोकरको कारोबार थाल्न सहायक कम्पनी खोल्दै सानिमा बैङ्क, साधारणसभामा प्रस्ताव लैजाँदै

सहायक कम्पनी स्थापना गर्न मङ्सिर २७ गते हुने १४ औं वार्षिक साधारणसभामा प्रस्ताव लैजाने भएको छ । साधारणसभाबाट पारित भएपछि सेयर ब्रोकरेजको कारोबार सुरु गर्ने बैङ्कको योजना छ ।

काठमाडौं । सानिमा बैङ्कले सेयर ब्रोकरेजको कारोबार सुरु गर्ने भएको छ । बैङ्कले सेयर ब्रोकरको कारोबार गर्नका लागि सहायक कम्पनी स्थापनाको तयारी थालेको छ ।

सहायक कम्पनी स्थापना गर्न मङ्सिर २७ गते हुने १४ औं वार्षिक साधारणसभामा प्रस्ताव लैजाने भएको छ । साधारणसभाबाट पारित भएपछि सेयर ब्रोकरेजको कारोबार सुरु गर्ने बैङ्कको योजना छ ।

बैङ्कले सहायक कम्पनीमार्फत सेयर ब्रोकरेजको काम थाल्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालले बताए । नेपाल धितोपत्र बोर्डले बैङ्क खुला गरेकाले सहायक कम्पनी खोल्न लागेको उनले स्पष्ट पारे ।

गत वर्ष धितोपत्र बोर्डले बैङ्कलाई सेयर ब्रोकरको कारोबार खुला गरेको थियो । सेयर ब्रोकरको कारोबार गर्न सहायक कम्पनी स्थापना गर्नुपर्ने नीतिगत व्यवस्था बोर्डले गरेपछि बैङ्कहरु यसमा पछि हटेका छन् । हालसम्म कुनै पनि बैङ्कले सेयर ब्रोकरको काम सुरु गरेका छैनन् ।

पुँजी परिचालन बढाउन बैङ्कले थप ऋणपत्र निष्कासन गर्ने सीईओ दाहालले जानकारी दिए । बैङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सानिमा डिवेञ्चर निष्कासन गरिसकेको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट बैङ्कले सेयरधनीलाई १ अर्ब १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । न्यूनतम चुक्ता पुँजी पुगेपछि बैङ्कले यो वर्ष सेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव गरेको हो ।