चिनियाँ संयुक्त लगानीमा नेपालमा विद्युतीय मोटर कारखाना स्थापनाको तयारी, लागत २० अर्ब

मोटर कारखाना नेपाल सरकार र चिनियाँ कम्पनी बिएकेको संयुक्त लगानीमा हुन लागेको हो । कारखाना सञ्चालनमा आएपछि मोटरका पार्ट्स चीनबाट आयात गरी जडानको काम नेपालमा हुने छ ।

काठमाडौं । नेपाल र चीनको संयुक्त लगानीमा यहाँ विद्युतीय सवारीसाधन उत्पादनका लागि गृहकार्य सुरु भएको छ । विद्युतीय सवारीसाधन उत्पादन कारखाना स्थापना गर्न २० अर्ब रुपैयाँ लगानी हुने भएको छ ।

मोटर कारखाना नेपाल सरकार र चिनियाँ कम्पनी बिएकेको संयुक्त लगानीमा हुन लागेको हो । कारखाना सञ्चालनमा आएपछि मोटरका पार्ट्स चीनबाट आयात गरी जडानको काम नेपालमा हुने छ ।

नेपालमा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक यो प्रक्रिया अगाडि बढेको हो । नेपालमा एसम्बल्ड मोटर कारखाना चीनको बिएकेको स्वामित्वमा रहने छ । शुक्रबार बिएके कम्पनीका सीईओ जेनलिन लिओसहित अन्य पदाधिकारीहरु विद्युतीय सवारीसाधनको सम्भाव्यता अध्ययन र एसेम्बल्ड सवारी कारखानाका लागि सरकारसँग सहकार्य गर्न काठमाडौं आएका छन् । पछिल्लो समय विद्युतीय सवारी भित्र्याउन नेपाली व्यवसायी चिनियाँ कम्पनीमा बढी आकर्षित देखिएकोले नेपालमा यस किसिमको कारखाना खोल्न इच्छुक भएको चिनियाँ कम्पनी बिएकेका सीईओ लुओकोले बताए ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार चिनियाँ कम्पनी बिएके सुन्दर यातायातको माध्यमबाट नेपालमा लगानी भित्र्याउन इच्छुक छ । पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न लगानी बोर्डको स्वीकृति लिनु पर्ने भएकाले लगानी बोर्डमा प्रस्ताव लैजाने तयारी भइरहेको यातायात व्यवसायी थापाले जानकारी दिए । प्रस्तावित कारखानाको लागत २० अर्ब रुपैयाँ हुनेछ ।

मोटर कारखाना स्थापना गर्न काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य पनि इच्छुक देखिएका छन् । महानगर प्रमुखले काठमाडौंमा सम्भव भएसम्म जग्गा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका छन् । सुन्दर यातायातले भने काठमाडौं उपत्यकाभित्र कारखाना स्थापना गर्न पर्याप्त जग्गा उपलब्ध नभए बुटवलमा सञ्चालन गर्ने योजना बनाएको छ ।

आवश्यक जग्गा उपलब्ध भए ६ महिनादेखि एक वर्षभित्र कारखाना सञ्चालनमा ल्याउने तयारी भएको बिएके कम्पनीका सीईओ लिओले जानकारी गराएका छन् । अध्यक्ष थापाका अनुसार गत शुक्रबार बसेको संयुक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले नेपालमा विद्युतीय मोटर प्लान्ट स्थापना गर्ने विषयमा एक महिनाभित्र मन्त्रिपरिषदले निर्णय गर्ने जानकारी दिएका छन् । ‘नेपालमा कुनैपनि बहुराष्ट्रिय कम्पनीले सरकारसँग समन्वय गरी लगानी भित्र्याउन चाहन्छ भने जङ्गल नमासिने गरी कारखाना खोल्न पर्याप्त जग्गा दिन सरकार तयार छ,’ मन्त्री अधिकारीले भने ।

राजधानीका सडकमा विद्युतीय सवारी सञ्चालन तथा कारखानाको सम्भाव्यता अध्ययन गर्न बिहीबार चिनियाँ टोली काठमाडौं आएको थियो । यसमा नेपाल सरकार तथा काठमाडौं महानगर प्रमुखको सकारात्मक प्रतिक्रिया रहेको थापाको भनाइ छ ।

कारखाना सञ्चालन गर्न सरकारले सहजीकरण गरे नेपालका सयौं युवाले रोजगारी पाउने र अन्य देशबाट सवारीका पाटपुर्जा ल्याई नेपालमै विद्युतीय गाडी बन्ने अध्यक्ष थापाले जानकारी दिए ।