आरबीआईले बजार हस्तक्षेप गरेपछि डलर पुनः उकालो लाग्यो, १ डलर किन्न ११३ खर्चिनुपर्ने

डलरमा आयात गरिएका वस्तु तथा सेवाको लागत महँगो भई बजार मूल्य बढ्छ । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधान, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको पनि भाउ बढ्छ । विदेशबाट कच्चापदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुन्छ ।

काठमाडौं : अमेरिकी डलरसँग नेपाली रुपैयाँ फेरि कमजोर भएको छ । झन्डै २ महिनाअघि अर्थात् असोज २४ गते डलर महँगिएर ११९ रुपैयाँ ३३ पैसा पुगेर ओरालो लागेकोमा फेरि बढ्न थालेको छ ।

मङ्गलबार मजबुत भई १ डलरबराबर ११३ रुपैयाँ पुगेको छ । सोमबार नेपाल राष्ट्र बैङ्कले १ डलरबराबर १११.६५ रुपैयाँ तोकेको थियो । एक दिनमै रुपैयाँ १ रुपैयाँ ३५ पैसाले कमजोर भएको छ ।

भारतीय रिजर्भ बैङ्क (आरबीआई) ले मङ्गलबारका लागि १ डलरबराबर ७०.३४ भारु तोकेको छ । सोमबारको तुलनामा मङ्गलबार भारु ३४ पैसाले कमजोर हुन पुगेको छ ।

आरबीआईले बजारमा हस्तक्षेप गर्न थालेपछि भारु कमजोर हुँदा यसको असर नेपाली रुपैयाँमा परेको राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताए । ‘डलर कमजोर हुँदै गएपछि आरबीआईले बजारबाट उठाउँदा असर परेको छ । बजारमा डलर कम हुँदा माग बढ्दा भाउ बढेको हो,’ उनले भने ।

गत वैशाखदेखि डलर मजबुत हँुदै गएको हो । वैशाखमा १०६ रुपैयाँ भएकोमा पछिल्लो समयमा बढ्दै गएको छ । स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ । डलर मजबुत भएपछि यसको चाप मूल्यमा पर्ने गर्छ र बजार भाउ बढ्छ ।

डलर बलियो हुँदाका बेफाइदा यस्ता छन्

डलरमा आयात गरिएका वस्तु तथा सेवाको लागत महँगो भई बजार मूल्य बढ्छ । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधान, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको पनि भाउ बढ्छ । विदेशबाट कच्चापदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुन्छ ।

राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा हवाई टिकटको मूल्य बढ्छ । नेपाल विद्युत् प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दायित्व पनि थप भएको छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ । डलरकै कारण चालू आर्थिक वर्षको ३ महिनामा रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत बढेको छ ।