वाणिज्य बैङ्कले ‘भद्र सहमति’ भन्दै सङ्घको निर्णयका आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेको थियो ।
काठमाडौँ : व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा अबदेखि नलाग्ने भएको छ ।
नेपाल बैङ्कर्स सङ्घको आज बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैङ्कलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरेको छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैङ्कले आफैँ निर्धारण गर्न पाउने निर्णय गरेको जानकारी दिए । वाणिज्य बैङ्कले ‘भद्र सहमति’ भन्दै सङ्घको निर्णयका आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेको थियो ।
बैङ्कमा ऋण दिने रकमको अभाव हुन थालेपछि सङ्घको बैठकले निक्षेप बढाउनका लागि त्यस्तो निर्णय गरेको हो । अध्यक्ष ढुङ्गानाले भने, “व्यक्तिगत निक्षेपको हकमा बैङ्क आफैँले स्वतन्त्र हुने निर्णय गर्न सक्छन् ।” यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो ।
यस्तै बचत खातामा भने सात प्रतिशतसम्म ब्याज दिन पाइने व्यवस्था रहेको छ । यस्तै संस्थागत निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति गरिएको थियो । रासस