no-image

प्रहरीका अनुसार पछिल्लो समय कालो मरिचको अवैध तस्करी अस्वाभाविक रुपमा बढेको छ । प्रहरीले गत आर्थिक वर्षको जेठमा १२ टन मरिच बरामद गरेको थियो । साउनयता मात्रै तस्करी भएर नेपाल भित्रिएको १८ टन मरिच पर्सा प्रहरीले बरामद गरेको छ ।

काठमाडौं : पछिल्लो समय तराईका नाका मरिच तस्करीको प्रमुख केन्द्र बन्दै आएका छन् । खुला सीमानाको फाइदा उठाउँदै तस्करहरुले तेस्रो मुलुकबाट खरिद गरी अवैध रुपमा भारत पैठारी गरिरहेका छन् ।

प्रहरीका अनुसार पछिल्लो समय कालो मरिचको अवैध तस्करी अस्वाभाविक रुपमा बढेको छ । प्रहरीले गत आर्थिक वर्षको जेठमा १२ टन मरिच बरामद गरेको थियो । साउनयता मात्रै तस्करी भएर नेपाल भित्रिएको १८ टन मरिच पर्सा प्रहरीले बरामद गरेको छ ।

साउनयता नै पूर्वी नाकाबाट १० क्विन्टलभन्दा बढी मरिच बरामद भएको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको चार महिनामा मात्रै विभिन्न नाकाबाट ३१ टन मरिच अवैध किसिमले भित्रिएको प्रहरी तथ्याङ्कले देखाउँछ ।

भारतमा मरिचको भन्सार एकदमै महँगो छ । तर, नेपालमा भारतको तुलनामा भन्सार दर कम भएकाले पनि तेस्रो मुलुकबाट नेपाल ल्याएर भारत पैठारी हुने गरेको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले जानकारी दिए ।

‘पाँच प्रतिशत रहेको भन्सारलाई १० प्रतिशत पु¥याएका छौं,’ सचिव ढुङ्गानाले भने, ‘तैपनि तस्करीको आँखा मरिचमै छ ।’ तेस्रो मुलुकबाट आयात गरिने मरिच कानुनतः नेपालमै खपत हुनुपर्छ । तर, तथ्याङ्क हेर्ने हो भने यहाँ खपत हुनेभन्दा धेरै बढी आयात भएको छ ।

यसरी आयात भएको मरिच खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले अवैध रुपमा भारत पठाउने गरेका छन् ।

हाल भियतनामबाट मरिच आयात हुन्छ । यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रुपमा भारत निकासी गरिँदै आएको थियो । सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकमेलको आयात गरी भारत निकासी गरे ।

खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले भारततर्फ अवैध रुपमा मरिच पठाउने गरेका छन् । झापा, मोरङ, सुनसरी, सिराहालगायतका सीमावर्ती क्षेत्रहरूबाट चोरी निकासी हुने गर्छ । भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्य अन्तरकै कारण मरिचको पैठारी बढेपछि आयात यति धेरै भएको हो ।

पर्सा प्रहरीको नियन्त्रणमा ७ क्वीन्टल मरिच
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले महानगरपालिका ८ स्थित राजेश महतो नुनियाले सञ्चालन गरेको फलफूल पसलबाट सोमबार भन्सार छलीको मरिच बरामद गरेको पर्सा प्रहरी प्रमुख एसपी रेवती सापकोटाले जानकारी दिए ।

फलफूल पसलमा मरिच राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार उक्त पसलमा छापा मारेको थियो । फलफूल पसलमा राखिएको ७ सय किलो मरिचको खरिद तथा बिक्री गर्ने कागजपत्र नभएकाले प्रहरीले उक्त मरिच बरामद गरेको जनाएको छ । प्रहरीले अवैध मरिचको कारोबार गर्ने महतोलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका महतोलाई भन्सार छलीको मरिचसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, मध्यक्षेत्रीय कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।