बैङ्कबीच फेरि सुरु भयो ब्याजदर बढाउने प्रतिस्पर्धा, व्यक्तिगत मुद्दती १२.५ प्रतिशत पुग्यो

व्यक्तिगत मुद्द्ती निक्षेपमा आफूखुसी ब्याज लिन पाउने व्यवस्था गरेपछि बैङ्कबीच ब्याजदर बढाउने प्रतिस्पर्धा चलेको हो । माछापुच्छ्रे बैङ्क र जनता बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाइसकेका छन् ।

काठमाडौं । वाणिज्य बैङ्कबीच निक्षेप बढाउन फेरि प्रतिस्पर्धा सुरु भएको छ । नेपाल बैङ्कर्स सङ्घले व्यक्तिगत मुद्दती निक्षेप बढाउन खुला छाडेपछि बैङ्कहरुले धमाधम ब्याजदर बढाउन थालेका हुन् ।

सङ्घको मङ्गलबार बसकेको २८ अाेटै वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहभागी बैठले यसअघि भएको भद्र सहमतिलाई लागू नगरी व्यक्तिगत मुद्द्ती निक्षेपमा आफूखुसी ब्याज लिन पाउने व्यवस्था गरेपछि बैङ्कबीच ब्याजदर बढाउने प्रतिस्पर्धा चलेको हो । माछापुच्छ्रे बैङ्क र जनता बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाइसकेका छन् । बैङ्कबीच ब्याजदर बढाउने प्रतिस्पर्धाले व्यक्तिगत निक्षेपकर्तालाई फाइदा गर्नेछ । चर्को ब्याज तिरिरहेका व्यवसायी भने थप मारमा पर्ने अवस्था आएको छ । ब्याजदरका कारण उत्पादन लागत बढ्ने र यसले बजार भाउ पनि माथि जाने सम्भावना छ ।

माछापुच्छ्रे बैङ्कले व्यक्तिगत मुद्दती खाता योजना ल्याएर १२.५ प्रतिशतसम्म ब्याज दिने घोषण गरेको छ । बैङ्कले मासिक ब्याज भुक्तानी र ५ वर्षसम्मका लागि नयाँ ब्याजदर योजना ल्याएको हो ।

यस्तै जनता बैङ्कले पनि १२ प्रतिशत ब्याज दिने गरी जनता मुद्दती खाता योजना ल्याएको छ । न्यूनतम १ लाख रुपैयाँ मौज्दात हुने गरी ७५ दिन वा सोभन्दा बढी अवधिका लागि बैङ्कहरुले मुद्दती निक्षेप योजना ल्याएका हुन् । बैङ्कहरुले साधारण बचतको ब्याजदर पनि ७ प्रतिशतसम्म दिँदै आएका छन् ।

यसअघि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ साढे १० र आफूखुसी ०.५ थपेर ११ प्रतिशतसम्म ब्याज दिने पाउने बैङ्कबीच भद्र सहमति भएको थियो । सहमतिअनुसार संस्थागतलाई १० प्रतिशत ब्याज दिने सहमति भएको थियो ।

पूर्वबैङ्कर अनलराज भट्टराई बैङ्कहरु बढी आक्रामक भएर लगानी गर्दा यसको असर ब्याजदरमा परेको बताउँछन् । बैङ्कले निक्षेप परिचालन अनुसार लगानी गर्नुपर्नेमा आक्रम हुँदा यसको असर परेको उनको भनाई छ । २ वर्षयता साधारण निक्षेप घट्दै गएको र मुद्दती बढ्दै गएको भट्टराइले बताए । कतिपय ठूला मुद्दती निक्षेप परिपक्व हुन लागेकाले यसलाई रोक्नलाई पनि बैङ्कहरुले ब्याजदर बढाएको उनले जानकारी दिए ।

मुद्रास्फीति साढे ४ प्रतिशत रहेको र यसको बढीमा २ प्रतिशतभन्दा बढी ब्याजदर नहुनु पर्ने उनको भनाई छ । बढ्दो ब्याजले कर्जा महँगो हुने र आर्थिक शिथिलता ल्याउने देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न निजी क्षेत्रबाट १० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।

बैङ्कले मुद्दती निक्षेपको ब्याजदर बढाउन थालेपछि निक्षेप लागत बढ्ने र आधार दर पनि माथि पुग्ने छ । बढी ब्याजदर दिएपछि बैङ्कले दिने कर्जाको ब्याज पनि महँगो हुने भएको छ । बैङ्कसँग लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) हुँदा थप लगानी गर्न नसक्ने अवस्थामा पुगको सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहाल बताउँछन् । सीसीडी रेसियाे नजिक पुगेकाले लगानी गर्न नसक्ने अवस्थामा पुगको उनको भनाई छ ।

अधिकाँश वाणिज्य बैङ्कको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत हारहारीमा छ । बैङ्कको आधार दर औसत ११ प्रतिशत ।

क्रेडिट क्रन्च समस्या बढेपछि सरकारले नेपाल राष्ट्र बैङ्कको पहलमा स्थानीय तहमा गएको ८० अर्ब रुपैयाँमध्ये ४० अर्ब रुपैयाँ निक्षेपमा गणना गर्न अनुमति दिएको छ । मङ्गलबार बैङ्कहरुमा थप ४० अर्ब रुपैयाँ तरलता थपिएको छ ।