एनआईसी एसियाको निक्षेप १७१ अर्ब पुग्यो, सबैभन्दा ठूलो बैङ्क

गत साउनमा बैङ्कको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँ थियो । निक्षेपका आधारमा एनआईसी एसिया सबैभन्दा ठूलो बैङ्क भएको छ ।

काठमाडौं : साउनयता एनआईसी एसिया बैङ्कले २० अर्ब रुपैयाँ निक्षेप बढाएको छ । हालसम्म बैङ्कले निक्षेप बढाएर १ खर्ब ७१ अर्ब रुपैयाँ पुर्याएको छ । गत साउनमा बैङ्कको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँ थियो । निक्षेपका आधारमा एनआईसी एसिया सबैभन्दा ठूलो बैङ्क भएको छ ।

निक्षेप परिचालनका आधारमा एनआईसी एसिया सबैभन्दा ठूलो बैङ्क स्थापित भएकोे प्रमुख जनसम्पर्क अधिकृत अर्जुनराज खनियाँले बताए । उनका अनुसार निक्षेप परिचालनमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कलाई पछि पारेको छ । राष्ट्रिय वाणिज्यको निक्षेप १ खर्ब ६० अर्ब रुपैयाँ छ । राष्ट्रिय वाणिज्यभन्दा एनआईसीको निक्षेप झन्डै ११ अर्ब रुपैयाँ बढी छ ।

हालसम्म बैङ्कको कर्जा लगानी बढेर १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको उनले बताए । पछिल्ला वर्ष बैङ्क निक्षेप परिचालनमा आक्रामक हुँदै आएको छ ।

बैङ्कले व्यक्तिगत निक्षेपको ब्याजदर बढाउन थालेपछि एनआईसीले बजारको अवस्था अध्ययन गरिरहेको खनियाँले बताए । उनले यस विषयमा बैङ्कले निर्णय गरिनसकेको जानकारी दिए ।