बैङ्किङ प्रणालीमा क्रेडिट क्रन्चको असर,  जनता र माछापुच्छ्रेलाई उछिन्दै कुमारी बैङ्कले दियो १३ प्रतिशत ब्याज

व्यक्तिगत निक्षेपकर्तालाई लक्षित गरी जनताले १२ र माछापुच्छ्रेले १२.५ प्रतिशत ब्याज दिने घोषणा गरेको भोलिपल्ट बिहीबार कुमारी बैङ्कले १३ प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको हो ।

काठमाडौं । जनता र माछापुच्छ्रेलार्इ उछिन्दै कुमारी बैङ्कले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यो हालसम्मको सबैभन्दा बढी ब्याजदर हो ।कुमारीले ३ वर्ष समयसम्मलाई लक्षित गरी मुद्दती योजना ल्याएको हो । मासिक ब्याज भुक्तानीका साथै न्यूनतम मौज्दात १० हजार रुपैयाँ चाहिने कुमारीले जनाएको छ ।

व्यक्तिगत निक्षेपकर्तालाई लक्षित गरी जनताले १२ र माछापुच्छ्रेले १२.५ प्रतिशत ब्याज दिने घोषणा गरेको भोलिपल्ट बिहीबार कुमारी बैङ्कले १३ प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको हो । कुमारीले साधारण बचतको पनि ब्याजदर बढाएर ७ प्रतिशत पुर्याएको छ । यस्तै सेन्चुरी कर्मर्शियल बैङ्कले पनि साधारण बचतको ब्याजदर बढाएर ७ प्रतिशत कायम गरेको जानकारी दिएको छ ।सेयरमा लगानीभन्दा बैङ्कको मुद्दतीमा फाइदा देखिएको छ ।

बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) बढेपछि बैङ्कहरुले निक्षेप तान्न धमाधम व्यक्तिगत निक्षेपको ब्याजदर बढाउन थालेका हुन् । ३ वर्षदेखि बैङ्कमा क्रेडिट क्रन्चको समस्या हुदै आएको छ । अधिकांश बैङ्कको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत हाराहारीमा पुगेको छ । थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकत (सीईओ) भुवनकुमार दाहाल बताउँछन् ।

नेपाल बैङ्कर्स सङ्घले व्यक्तिगत मुद्दती निक्षेप बढाउन खुला छाडेपछि बैङ्कहरुले धमाधम ब्याजदर बढाउन थालेका हुन् । सङ्घको मङ्गलबार बसकेको २८ अाेटै वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहभागी बैठकले यसअघि भएको भद्र सहमतिलाई लागू नगरी व्यक्तिगत मुद्दती निक्षेपमा आफूखुसी ब्याज लिन पाउने व्यवस्था गरेपछि बैङ्कबीच ब्याजदर बढाउने प्रतिस्पर्धा चलेको हो ।

माछापुच्छ्रे बैङ्कले व्यक्तिगत मुद्दती खाता योजना ल्याएर १२.५ प्रतिशतसम्म ब्याज दिने घोषण गरेको छ । बैङ्कले मासिक ब्याज भुक्तानी र ५ वर्षसम्मका लागि नयाँ ब्याजदर योजना ल्याएको हो । यस्तै जनता बैङ्कले पनि १२ प्रतिशत ब्याज दिने गरी जनता मुद्दती खाता योजना ल्याएको छ । न्यूनतम १ लाख रुपैयाँ मौज्दात हुने गरी ७५ दिन वा सोभन्दा बढी अवधिका लागि बैङ्कहरुले मुद्दती निक्षेप योजना ल्याएको हो ।

यसअघि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ साढे १० र आफूखुसी ०.५ थपेर ११ प्रतिशतसम्म ब्याज दिने पाउने बैङ्कबीच भद्र सहमति भएको थियो । सहमतिअनुसार संस्थागतलाई १० प्रतिशत ब्याज दिने सहमति भएको थियो ।

पूवबैङ्कर अनलराज भट्टराई बैङ्कहरु बढी आक्रामक भएर लगानी गर्दा यसको असर ब्याजदरमा परेको बताउँछन् । २ वर्षयता साधारण निक्षेप घट्दै गएको र मुद्दती बढ्दै गएको भट्टरार्इले बताए । कतिपय ठूला मुद्दती निक्षेप परिपक्व हुन लागेकाले यसलाई रोक्नलाई पनि बैङ्कहरुले ब्याजदर बढाएको उनले जानकारी दिए ।

बैङ्कले मुद्दती निक्षेपको ब्याजदर बढाउन थालेपछि निक्षेप लागत बढ्ने र आधार दर पनि माथि पुग्ने छ । बढी ब्याजदर दिएपछि बैङ्कले दिने कर्जाको ब्याज पनि महँगो हुने भएको छ । बैङ्कको आधार दर औसत ११ प्रतिशत ।

बैङ्कले व्यक्तिगत निक्षेपको ब्याजदर बढाउन थालेपछि एनआईसीले बजारको अवस्था अध्ययन गरिरहेको प्रमुख जनसम्पर्क अधिकृत अर्जुनराज खनियाँले बताए । उनले यस विषयमा बैङ्कले निर्णय गरिनसकेको जानकारी दिए । एनआईसीले निक्षेप बढाएर १ खर्ब ७१ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै कर्जा लगानी पनि १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिए ।

क्रेडिट क्रन्च समस्या बढेपछि सरकारले नेपाल राष्ट्र बैङ्कको पहलमा स्थानीय तहमा गएको ८० अर्ब रुपैयाँमध्ये ४० अर्ब रुपैयाँ निक्षेपमा गणना गर्न अनुमति दिएको छ । मङ्गलबार बैङ्कहरुमा थप ४० अर्ब रुपैयाँ तरलता थपिएको छ । यसको आधा निक्षेप सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमा छ ।