सरकारलाई सेयरलगानीकर्ताको प्रश्न, आकाश छुने ब्याजदर, धसिएको सेयर बजार, काहाली लाग्दो मार्जिन कल, यो केको सङ्केत हो ?

साना ठूला लगानीकर्ता बैङ्कको मार्जिनकलबाट हैरान हुन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले २० प्रतिशत बजार घट्दासम्म मार्जिन कल गर्नु नपर्ने व्यवस्था गरेको छ । तर दिनहुँ घट्दो बजारले गर्दा बैङ्कको मार्जिक कलको त्राशमा लगानीकर्ता छन् ।

काठमाडौं । आकाश छुने ब्याजदर, धर्तिमा धसिएको सेयर बजार, काहाली लाग्दो मार्जिन कल, यो केको सङ्केत हो सरकार ? यो प्रश्न हो, सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको । बजार लगातार घटेर पेनिक अवस्थामा पुगेपछि उनले बिहीबार फेसबुकमार्फत आफ्ना गुनासो यसरी पोखेका हुन् । घटिरहेको सेयर बजारलाई फेरि बैङ्कको ब्याजदरले झनै असर गरेको छ । बैङ्कहरुबीच भएको ब्याजदरको भद्र सहमति तोडिएर ब्याजदर उकालो लाग्न थालेपछि सेयर लगानीकर्ता निराश बनेका छन् । उनीहरु निराश मात्र हैन लगानीको विश्वास समेत गुमेको एक सेयर ब्रोकरले बताए ।

साना ठूला लगानीकर्ता बैङ्कको मार्जिनकलबाट हैरान हुन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले २० प्रतिशत बजार घट्दासम्म मार्जिन कल गर्नु नपर्ने व्यवस्था गरेको छ । तर दिनहुँ घट्दो बजारले गर्दा बैङ्कको मार्जिक कलको त्रासमा लगानीकर्ता रहेका छन् ।

ब्याजदर बढेको सार्वजनिक भएपछि बुधबार सेयर बजार २२ अङ्कले घटेर नेप्से परिसूचक ११०० सय नजिक आएको छ । बैङ्कहरुबीचको ब्याजदर बढाउने प्रतिस्पर्धाले मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशत पुगेको छ । ब्याजदर अझै बढ्ने सङ्केत बैङ्करहरुले गरेका छन् ।

साताको दुई दिन सुधार आएको सेयर बजार तेस्रो दिन २२.८० अङ्क झरेको हो । साताको अन्तिम दिन बिहीबार पनि बजार घट्ने सम्भावना छ । बुधबार नेप्से परिसूचक १११८ अङ्कमा पुगेको छ । आइतबार ११३० अङ्क कायम भएको नेप्से मङ्गलबार १० अङ्क सुधार हुँदै ११४० अङ्क कायम भएको थियो ।

जनता र माछापुच्छ्रेलाई उछिन्दै कुमारी बैङ्कले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यो हालसम्मको सबैभन्दा बढी ब्याजदर हो ।

बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) बढेपछि बैङ्कहरुले निक्षेप तान्न धमाधम व्यक्तिगत निक्षेपको ब्याजदर बढाउन थालेका हुन् । ३ वर्षदेखि बैङ्कमा क्रेडिट क्रन्चको समस्या हुँदै आएको छ । अधिकांश बैङ्कको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत हाराहारीमा पुगेको छ ।

क्रेडिट क्रन्च समस्या बढेपछि सरकारले नेपाल राष्ट्र बैङ्कको पहलमा स्थानीय तहमा गएको ८० अर्ब रुपैयाँमध्ये ४० अर्ब रुपैयाँ निक्षेपमा गणना गर्न अनुमति दिएको छ । मङ्गलबार बैङ्कहरुमा थप ४० अर्ब रुपैयाँ तरलता थपिएको छ । यसको आधा निक्षेप सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमा छ ।