फाइनान्स सञ्चालनको भावी रणनीति तयार पार्नका लागि लिक्विडेटरको कार्यालयले मङ्सिर २७ गते बिहीबार साहुहरुको भेला बोलाएको छ । साहुहरुसँग छलफलपछि फाइनान्स सञ्चालनका लागि प्रक्रिया सुरु हुने कार्यालयको जनाएकाे छ । कार्यलयले लगानीकर्ता र निक्षेपकर्तासँग पनि सुझाव मागिसकेको छ ।
काठमाडौं । खारेजीको क्रममा रहेको हिमालयन फाइनान्स लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउने तयारी भएको छ । लिक्वडेटरको कार्यालयले फाइनान्स पुनः सञ्चालनमा ल्याउनका लागि तयारी थालेको हो ।
फाइनान्स सञ्चालनको भावी रणनीति तयार पार्नका लागि लिक्विडेटरको कार्यालयले मङ्सिर २७ गते बिहीबार साहुहरुको भेला बोलाएको छ । साहुहरुसँग छलफलपछि फाइनान्स सञ्चालनका लागि प्रक्रिया सुरु हुने कार्यालयको जनाएकाे छ । कार्यलयले लगानीकर्ता र निक्षेपकर्तासँग पनि सुझाव मागिसकेको छ ।
नेपाल राष्ट्र बैङ्क फाइनान्स सञ्चालनका लागि सकारात्मक भएपछि प्रक्रिया अघि बढाइएको लिक्वडेटरको कार्यालयले जानकारी दिएको छ । हाल हिमालयको निक्षेप रकम फिर्ता र अन्य गरी संस्थाको दायित्व ५० करोड रुपैयाँ छ । फाइनान्सको तरल र स्थिर सम्पत्ति गरी कुल २५ करोड रुपैयाँ दायित्व भुक्तान गर्न नसकिने अवस्था देखिएपछि निक्षेपकर्ताको निक्षेप रकम सेयरमा परिणत गर्न योजना ल्याइएको हो ।
निक्षेपकर्ताको रकम सेयरमा परिणत गर्न सकारात्मक भएको कार्यलयको जनाएकाे छ । २५ करोड रुपैयाँ दाइत्वलाई सेयरमा परिणत गर्न सके फाइनान्स सञ्चालन गर्ने वातावरण बन्ने देखिएको लिक्विडेटरको ठहर छ । फाइनान्स कम्पनी सञ्चालन गर्न अहिले ८० करोड रुपैयाँ चुक्तापुँजी चाहिन्छ ।
वित्तीय संस्थाको अवस्था खराब भएपछि नेपाल राष्ट्र बैङ्कले सङ्कटग्रस्त घोषणा गरी खारेजीका लागि तत्कालीन पुनरावेदन हालको उच्च अदालतमा मुद्दा दायर गरेको थियो । केन्द्रीय बैङ्कको निवेदनको सुनुवाई गर्दे पुनरावेदन अदालत पाटन (हालको उच्च अदालत) ले ०७२ असोज २१ गते दामासाही ऐनअनुसार लिक्विडेटर नियुक्त गरी खारेज प्रक्रिया अघि बढाउन आदेश दिएपछि हाल कार्यलयले खारेजीको काम गरिरहेको छ ।
वित्तीय अवस्था नाजुक भएपछि राष्ट्र बैङ्कले सन् २०१२ मा जुलार्इमा खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको थियो । कम्पनीको पुँजी पर्याप्तता अनुपात, खुद सम्पत्तिलगायत अन्य सूचक नियमभन्दा कमजोर भएपछि राष्ट्र बैङ्कले खारेजीको प्रक्रियामा लगेको हो ।
हिमालयको कुल सम्पत्ति १८ करोड रुपैयाँ रहेकोमा वित्तीय अवस्था खराब भएपछि दायित्व बढेर ७३ करोड रुपैयाँ पुगेको थियो । फाइनान्सका पूर्वअध्यक्ष हिमालयभक्त प्रधानाङ्ग लगायत १६७ जनालाई बैङ्किङ कसुर ऐनअनुसार ५३ करोड २२ लाख ९० हजार रुपैयाँ दाबी माग गरिएको छ । सन् १९९४ मा स्थापना भएको फाइनान्सको चुक्तापुँजी १४ करोड रुपैयाँ छ ।
११ वित्तीय संस्था समस्याग्रस्त घोषणा भएकोमा अरुण फाइनान्स लिमिटेड र जनरल फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भई सञ्चालनमा आइसकेका छन् ।
राष्ट्र बैङ्कले समस्याग्रस्तबाट वित्तीय संस्था सञ्चालनका लागि सकरात्मक हुँदै आएको छ । समस्याग्रस्तबाट मुक्त भएर पुनः वित्तीय कारोबार गरेका वित्तीय संस्थाले चुक्तापुँजी पुर्याउन २ वर्ष थप समय दिएको छ । समस्याग्रस्तबाट मुक्त भई पुनः सञ्चालनमा आएका बैङ्क तथा वित्तीय संस्थाले आगामी २०७६ असारसम्म चुक्तापुँजी पुर्याउन पर्ने व्यवस्था गरेको छ ।