सुधीर बस्नेतकी श्रीमतीको नाममा रहेको ग्लोबल आईएमई बैङ्कको सेयर जफत, बिक्री गरेर बचतकर्तालाई दिइने

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुधीरकी श्रीमती नितु थापा र सहकारीका तत्कालीन कर्मचारी राजेश श्रेष्ठको नाममा रहेको २ लाख ३३ हजार ६७९ कित्ता सेयर समितिको नाममा ल्याई सोको बिक्री गरी सर्वसाधारण बचतकर्तालाई वितरण गरिने भएको छ ।

काठमाडौं । समस्याग्रस्त घोषित ओरेन्टल कोअपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष सुधीर बस्नेतको परिवारको नाममा रहेको ग्लोबल आईएमई बैङ्कको सेयर जफत हुने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुधीरकी श्रीमती नितु थापा र सहकारीका तत्कालीन कर्मचारी राजेश श्रेष्ठको नाममा रहेको २ लाख ३३ हजार ६७९ कित्ता सेयर समितिको नाममा ल्याई सोको बिक्री गरी सर्वसाधारण बचतकर्तालाई वितरण गरिने भएको छ ।

ग्लोबल आईएमईमा नीतु थापाको नाममा ५० हजार ३८९ साधारण र १ लाख ३६ हजार २३३ कित्ता संस्थापक सेयर रहेको समितिले जनाएको छ । यस्तै कर्मचारी राजेशका नाममा १३ हजार कित्ता साधारण र ३४ हजार ५८ कित्ता संस्थापक सेयर रहेको समितिले जनाएको छ ।

बचतकर्ताले सहकारीमा जम्मा गरेको रकमबाट सेयर खरिद गरिएको समितिले जानकारी दिएको छ । समितिले सो सेयर रोक्का गरी आफ्नो स्वामित्वमा ल्याउने भएको छ । समितिले भेगासिटी अपार्टमेन्टलाई बुकिङ, नवीकरण र थप रकम उठाउन रोक लगाएको छ ।

हाउजिङ व्यवसायमा टाट पल्टिएपछि बस्नेतमाथि सर्वसाधारणको १२ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लाग्दै आएको छ । प्रहरीले पक्राउ गरेका बस्नेत अहिले जेलबाट छुटेका छन् । उनले सञ्चालन गरेको ओरेन्टल कोअपरेटिभबाट सर्वसाधारणको ४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप अपचलन गर्नुका साथै बैङ्कको ऋण र हाउजिङलगायत कारोबारमा ८ हजारभन्दा बढीलाई ठगी गरेका छन् ।

ओरेन्टल कोअपरेटिभ र अग्नि यातायात सञ्चालन गरेका बस्नेतले व्यवसाय विस्तारका क्रममा आयुषा डेभलपर्स, ओरियन्टल बिल्डर्स, कोहिनूर हिल हाउजिंगमार्फत् सस्तोमा आवास दिने योजना ल्याएका थिए । २०६६ सालसम्म हाउजिङमा उनी सबैभन्दा ठूलो व्यवसायी बनेका थिए । बस्नेतले लगानी गरेका ग्राण्ड बैङ्क, अग्नी एयरलाइन्स डुबेका छन् ।

सुधीर बस्नेतले प्राइम कमर्शियल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, एनआईसी एसिया, नबिल बैङ्क, तत्कालीन किष्ट बैङ्क र ग्राण्ड बैङ्क हालको प्रभु बैङ्क, लुम्बिनी बैङ्क हालको बैङ्क अफ काठमाण्डू, सिद्धार्थ बैङ्क, सिभिल बैङ्क, सेञ्चुरी बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट ऋण लिएका थिए ।