कम्पनीले आगामी आर्थिक वर्ष ०७७/०७८ मा व्यवसाय विस्तार गरेर नाफा २० करोड १७ लाख रुपैयाँ पुग्ने अुनमान गरेको हो । गत आर्थिक वर्ष ०७४/०७५ मा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।
काठमाडौं : निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा खुदनाफा ४४१ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । कम्पनीले आगामी आर्थिक वर्ष ०७७/०७८ मा व्यवसाय विस्तार गरेर नाफा २० करोड १७ लाख रुपैयाँ पुग्ने अुनमान गरेको हो । गत आर्थिक वर्ष ०७४/०७५ मा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।
कम्पनीले चुक्ता पुँजी बढाउन हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको आह्वान पत्रमा ३ वर्षको अवधिमा एभरेष्टले आफ्नो नाफा १६ करोड ४५ लाख रुपैयाँ बढाउने प्रक्षेपण गरेको हो । कम्पनीले चालू आर्थिक वर्ष ०७५/०७६ मा १० करोड ६३ लाख, ०७६/०७७ मा १५ करोड ७५ लाख र ०७७/०७८ मा बढेर २० करोड १७ लाख रुपैयाँ खुदनाफा गर्ने अनुमान गरेको हो ।
निष्कासनकर्ता वित्तीय संस्थाले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिका आधारमा प्रेषित वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु तयार पारिएको एभरेष्टले जनाएको छ । प्रक्षेपणका आधारहरु चार्टर्ड एकाउन्टेन्टले प्रमाणित गरेको कम्पनीले जानकारी दिएको छ ।
नाफामा वृद्धि भए पनि प्रतिसेयर आम्दानी (ईपीएस) घट्ने कम्पनीले जानकारी दिएको छ । आगामी ३ वर्षमा ईपीएस घटेर १८ रुपैयाँ ४२ पैसा पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा एभरेष्टको ईपीएस २७ रुपैयाँ ९० पैसा थियो । चालू आर्थिक वर्षमा घटेर ईपीएस ९ रुपैयाँ ७० पैसा तथा आगामी वर्ष १४ रुपैयाँ ३८ पैसा पुग्ने अनुमान छ । हकप्रद सेयर निष्कासनपछि चुक्तापुँजी बढ्ने भएपछि ईपीएस घट्ने भएको हो ।
आव ०७७/०७८ मा बिमा शुल्क आर्जन वृद्धिदर गत आर्थिक वर्षको तुलनामा घटेर २५ प्रतिशत हुने छ । गत आवमा १२८ प्रतिशत रहेकोमा चालू आवमा घटेर ६६.१३ प्रतिशत तथा आगामी वर्ष २५ प्रतिशतले हुने अनुमान गरिएको छ । कम्पनीको कुल स्रोतको उपयोग बढेर १ अर्ब ८५ करोड रुपैयाँ पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा ५१ करोड ११ लाख, चालू आर्थिक वर्षमा १ अर्ब ४९ करोड र अर्को वर्ष १ अर्ब ४५ करोड रुपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।
कम्पनीले चुक्तापुँजी बढाएर न्यूनतम १ अर्ब रुपैयाँ पुर्याउन पहिलो चरणमा १ः१.०५ को दरले संस्थापक सेयरधनी कायम हुने गरी १४ करोड ३३ लाख २५ हजार रुपैयाँ बराबरको १४ लाख ३३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । संस्थापक हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्ने छ ।
संस्थापक हकप्रद सेयर गत आइतबार अर्थात् मङ्सिर १६ गतेदेखि निष्कासन भएको छ । हकप्रद निष्कासन आउँदो पुस २२ गतेसम्मलाई तोकिएको छ । चालू आर्थिक वर्षमा चुक्तापुँजी बढेर १ अर्ब ९ करोड रुपैयाँ पुग्ने एभरेष्टले जनाएको छ ।