काठमाडौं । चाँगुनारायण नगरपालिकाका १५०० घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउन आयोजना निर्माण सुरु भएको छ । आयोजनाका लागि नगर विकास कोषले २ करोड २८ लाख २८ हजार ३७९ रुपैयाँ ऋण उपलब्ध गराउन भएको छ ।
कोष र विन्दवासिनी बृहत (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्था, चागुनारायण नगरपालिकाबीच ऋण लिने सम्बन्धमा संझौता सम्पन्न भएको छ । सम्झौतमा उपभोक्ता संस्थाका अध्यक्ष नकुल राउत र कोषका कार्यकारी निर्देशक मणिराम सिंह महतले हस्ताक्षर गरेका छन् ।
करिब १४ करोड रुपैयाँको लागतमा सम्पन्न हुने उक्त खानेपानी आयोजनामा सरकारको ७० प्रतिशत र जनसमुदायको ३० प्रतिशत लगानीमा निर्माण सम्पन्न हुदैछ । जनसमुदायले लगानी गर्ने ३० प्रतिशत रकम उठाउन समय लाग्ने भएकाले विकास कोषबाट ऋण लिइएको संस्थाका अध्यक्ष राउतले जानकारी दिए ।
कोषले यो आयोजनाबाट ताथली र आसपासका गरी १५०० घर धुरी खानेपानीबाट लाभान्वित हुनेछन् । आगामी साउन भित्र सम्पन्न गर्ने लक्ष्य दिइएको उक्त आयोजनाको ५ लाख लिटरको ट्याङकी र २ वटा डिप बोरिङ तयार भइसकेको छ । कार्यालयको भवन र पाइपलाइनको काम विस्तार हुदैछ ।