११ जलविद्युत् आयोजनाबाट १३८७ मेगावाट बिजुली विद्युत् उत्पादन लाइसेन्स, यी हुन आयोजना (सूचिसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म ७ हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् ।

काठमाडौ । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ ।

चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता १ हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म ७ हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् ।

चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको तिला एक, ४२० मेगावाट क्षमताको तिला दुई ठूला आयोजना हुन् । ती आयोजना एससी पावर कम्पनीले निर्माण गर्न लागेका हुन् ।

यस्तै २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाले पनि त्यस्तो अनुमतिपत्र लिएको छ । सो आयोजनाको प्रवद्र्धक मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी रहेको छ । कूल १४० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको प्रवद्र्धक बुटवल पावर कम्पनी रहेको छ । उक्त आयोजनाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ ।

विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ह्याबिट्याट पावर कम्पनीले निर्माण गर्ने ५ मेगावाट क्षमताको हेवा ए, युनिटेक हाइड्रो पावर कम्पनीले निर्माण गर्ने ५.८ मेगावाट क्षमताको माथिल्लो फावाले पनि हालै विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ ।

सेञ्चुरी इनर्जी प्रालिले प्रवद्र्धन गर्ने ०.९७ मेगावाट क्षमताको हाडी खोला, गोरक्ष इनर्जी प्रवद्र्धक रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ ।

नीलगिरि खोला हाइड्रो पावर कम्पनीको प्रवद्र्धनमा निर्माण हुने ६२ मेगावाटको नीलगिरि खोला र शक्ति ऊर्जा विकास कम्पनीले प्रवद्र्धन गर्ने ०.९५ मेगावाट क्षमताको तौथली खोलाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ ।

विभागका अनुसार हाल सरकारको बास्केटमा रहेका आयोजनाको सङ्ख्या १०२ छन् । ती आयोजनाको क्षमता २ हजार ७७० मेगावाट रहेको छ ।

यस्तै एक मेगावाटभन्दा माथि रहेका कूल ७४ आयोजनाबाट १ हजार तीन मेगावाट र एक मेगावाटभन्दा साना १५ आयोजनाबाट ११ मेगावाट गरी कूल १ हजार ११४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।