नबिललाई पछि पार्दै इन्भेष्टमेन्टको ४० प्रतिशत लाभांश

वाणिज्य बैङ्क समूहमा सबैभन्दा बढी लाभांश दिने कम्पनीका रुपमा इन्भेष्टमेन्ट आएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैङ्कले नबिल बैङ्कलाई पछि पार्दै ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा नै १ अर्ब नाफा कमाएको इन्भेष्टमेन्टले सबैभन्दा बढी लाभांशको घोषणा गरेको हो । वाणिज्य बैङ्क समूहमा सबैभन्दा बढी लाभांश दिने कम्पनीका रुपमा इन्भेष्टमेन्ट आएको हो ।

कम्पनीले चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । १० अर्ब ६४ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले १८ प्रतिशतका दरले १ अर्ब ९१ करोड ६२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा २२ प्रतिशतका दरले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ नगद लाभांश दिने छ । यसअघि नबिल बैङ्कले ३४ प्रतिशत लाभांशको घोषणा गरेको थियो ।

कम्पनीको सञ्चालक समितिले गरेको लाभांश दिने निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कले स्वीकृति दिएपछि मात्र वितरण हुने छ ।