रसुवा कन्ट्रक्सनले बनायो सम्झौता अवधिअघि नै ११ अर्बका आयोजना

कम्पनीले हालसम्म ५० ओटा ठूला भौतिक तथा निर्माण आयोजना ठेक्का लिएर समयावधि पहिले नै सम्पन्न गरेको कम्पनीले जनाएको छ । कुल ११ अर्ब रुपैयाँको लागतका विभिन्न निर्माण आयोजनाको ठेक्का पाएर समयअघि नै बनाएर सरकारलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं : ठेक्का आफ्नो पोल्टामा पारी तोकिएको समयभित्रै निर्माण पूरा नगर्ने ठेकेदार तथा निर्माण व्यवसायीका कारण भौतिक तथा निर्माण आयोजना अलपत्र परिरहेका बेला रसुवा कन्ट्रक्सनले सुरु गरेका आयोजना अवधिभन्दा पहिले सम्पन्न हुने गरेका छन् । कम्पनीले ठेक्का लिएका आयोजना सुरु गरी सम्झौता अवधिभित्र वा पहिले नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने गरेको हो ।

कम्पनीले हालसम्म ५० ओटा ठूला भौतिक तथा निर्माण आयोजना ठेक्का लिएर समयावधि पहिले नै सम्पन्न गरेको कम्पनीले जनाएको छ । कुल ११ अर्ब रुपैयाँको लागतका विभिन्न निर्माण आयोजनाको ठेक्का पाएर समयअघि नै बनाएर सरकारलाई हस्तान्तरण गरिएको कम्पनीका अध्यक्ष राजेन्द्रराज आचार्यले बताए । कम्पनीले साढे २ अर्बका पुल, २ अर्ब ५० करोेडका भवन, १ अर्ब ५० करोडका सडक तथा जलविद्युत् आयोजनाको ठेक्का पाएर निर्माण गरिसकेको आचार्यले बताए ।

उनले ठेक्का पाएर निर्माणकर्मीकै भरमा काम चलाउने परम्पराका आयोजना समयमै नबन्ने भएकाले कम्पनी सञ्चालक पनि निर्माणकर्मी तथा कामदारप्रति सहयोगी भएर काम गर्नुपर्ने बताए । ‘अधिकांश ठेक्का पाएका कम्पनीले स्टाफकै भरमा काम चलाउने बानी छ । यसले आयोजना गुणस्तरीय र समयमै बन्न सक्दैन,’ उनले भने, ‘स्टाफसँगै ठेकेदार सञ्चालक सहयोगी बनेर नियमित रुपमा कामको मूल्याङ्कन र अनुगमन गर्नुपर्छ ।’

कम्पनीमा उनका भाइ मोहन आचार्यले नियमित साथ दिँदै आएका छन् । ‘भाइ मोहन आचार्यले कम्पनीले ठेक्का लिएका आयोजना हेर्छन्,’ उनले भने, ‘उनबाटै कामदारको मूल्याङ्कन, आवश्यक निर्माण सामग्री आपूर्ति र अनुगमन हुन्छ । म पनि कामदारकै सहयोगी भएर काममा हुन्छु ।’ अहिले कम्पनीमा २ सयभन्दा बढी विभिन्न तहका कामदारले रोजगारी पाइरहेका छन् ।

अहिले कम्पनीले लमजुङमा २७ मेगावाटको दोर्दीखोला हाइड्रोपावरको ७० प्रतिशत काम सकेको छ । दोर्दीखोला हाइड्रोपावरको ठेक्का ७० करोड रुपैयाँको हो । त्यस्तै मध्यपहाडी पूर्वी खण्डमा सडक निर्माणको ठेक्का लिएर काम गरिरहेको छ । धरान बीपी कोइराला ममोरियल हस्पिटलको २ अर्ब रुपैयाँको भवन निर्माणको ठेक्का पनि रसुवाले नै पाएको छ । अहिले हस्पिटलको काम विभिन्न कारणले रोकिए पनि सम्झौता अवधिभित्रै सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

२०३० सालमा निर्माण कार्य सुरु गरेको कम्पनीले खासगरी सडक, पुल, भवन, जलविद्युत् आयोजनालगायत अन्य संरचना निर्माण गर्दै आएको हो । पाँच वर्षमा निर्माण गर्ने ठेक्का पाएको सिन्धुलीको मरिनखोलाको पुल कम्पनीले डेढ वर्षअघि नै निर्माण सम्पन्न गरेको छ । त्यस्तै सिन्धुलीकै कमला र रातु नदीमा पक्की पुलको ठेक्का पाएको सम्झौता अवधिभन्दा डेढ वर्षअघि नै निर्माण सम्पन्न गरी सरकारलाई बुझाएको छ । रातु पुल दसैंअगावै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालद्वारा उद्घाटन भई सञ्चालनमा छ । तीन ओटा पुल एउटै प्याकेजमा कम्पनीले १ अर्ब २० करोड रुपैयाँमा ठेक्का लिएर निर्माण पूरा गरेको हो ।

कैलालीको टीकापुरमा कर्णाली पुल ५० करोडमा ठेक्का लिएर ३६ महिना तोकिएको अवधिमै सम्पन्न गरेको छ । ४ वर्षअघि २० करोडको ठेक्कामा १ सय ८० मिटर लामो भेरी पुल पनि समयावधि भित्रै सम्पन्न गरी २०७३ मा सरकारलाई हस्तान्तरण गरेको छ । तुल्सीपुरको ग्वारखोलामा बन्ने २ सय मिटर लामो पक्की पुल सम्झौताको अवधिभन्दा डेढ वर्षअघि नै सम्पन्न गरी हस्तान्तरण गरेको थियो ।