चलनचल्तीका नेपाली मुद्रा र सुरक्षा व्यवस्था

सक्कली नोट छाम्दा खस्रो हुन्छ भने नक्कली वा खोटा नोट छाम्दा चिल्लो हुन्छ । किनभने सक्कली नोट रूवाबाट तयार पारिएको कागजबाट बनाइन्छ भने नक्कली वा खोटा नोट काठ वा बाँसको कागजबाट बनाइन्छ । सक्कली नोटमा नेपाली अङ्क लेखिएका ठाउँमा छाम्दा अलिकति उठेको हुन्छ भने नक्कली वा खोटा नोटमा त्यस्तो विशेषता हुँदैन ।

मुद्राको आविष्कार हुनुअगाडि मानिसहरु वस्तु विनिमयबाट आफ्नो कारोबार सञ्चालन गर्थे । समयको परिवर्तनसँगै मानिसका आवश्यकता क्रमशः बढ्दै गए । ती आवश्यकता पूरा गर्न वस्तु विनिमयबाट मात्र सम्भव हुन छाड्यो । अब मानिसले वस्तु विनिमयभन्दा सरल प्रक्रियाद्वारा क्रय र विक्रय गर्ने साधनका रुपमा मुद्रालाई आविष्कार प्रचलनमा ल्याए । यही मुद्राबाट मानिसले वस्तु र सेवाको मूल्यनिर्धारण गरी विनिमय गर्ने परम्पराको थालनी गर्यो ।
कुनै पनि देशको मुद्रा कानुनी रुपले ग्राह्य हुन्छ । यही कानुनी ग्राह्य मुद्रालाई मौद्रिक साधन भनी परिभाषित गरेको पाइन्छ । आजको विश्वमा बैङ्किङ क्षेत्रको अभूतपूर्व विकासले गर्दा केवल मुद्रालाई मात्र मौद्रिक साधन नमानी चेक, ड्राफ्ट, डेबिट र क्रेडिट कार्ड, मोबाइल वालेट आदिलाई पनि मौद्रिक साधनका रुपमा स्विकारेको पाइन्छ । मुद्राको प्रचलनले एकातिर विनिमय प्रणाली सरल भएको छ भने अर्कोतिर राष्ट्रिय अर्थतन्त्रको आयव्ययको यही लेखाजोखा गर्न र योजना तर्जुमा गरी कार्यान्वयन गर्न सजिलो भएको छ ।

मौद्रिक साधन एक अपरिहार्य वस्तु भएकाले विकासोन्मुख देशले पनि आफ्नो अर्थतन्त्रलाई पूर्ण रुपमा मौद्रीकृत गर्न लागिपरेका छन् । हाम्रो देशमा पनि मौद्रिक साधनको अधिकतम परिचालन गरी अर्थतन्त्रलाई मौद्रीकृत गर्दै लैजाने कार्यमा ठूलो सफलता प्राप्त भएको छ । हाम्रो देशमा धातु मुद्राको प्रचलन धेरै पुरानो भए पनि कागजी मुद्राको प्रचलन भने २००२ साल असोजदेखि सदरमुलुकी खानाबाट कागजी मुद्रा निष्कासन भयो । त्यस समयमा सदर मुलुकीखानाबाट कागजी मुद्रा निष्कासन भए तापनि देशमा आवश्यक नेपाली मुद्रा चलनचल्तीमा ल्याउन नेपाली मुद्राप्रति विश्वसनीयता पैदा गर्न द्वयमुद्रा प्रणाली अन्त्य गर्दै अर्थतन्त्रलाई मौद्रीकृत गर्दै लैजान एक शक्तिशाली वित्तीय संस्थाको आवश्यकता महसुस हुँदै गयो । फलस्वरुप नेपाल राष्ट्र बैङ्क ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैङ्क देशको केन्द्रीय बैङ्क र सरकारको आर्थिक सल्लाहकारका रुपमा स्थापना भयो ।

सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न, नेपाली नोट निष्कासनको सुप्रबन्ध गर्ने, राज्यभर नेपाली मुद्रा चलनचल्तीमा ल्याउने नेपाली मुद्राको विनिमय दरमा स्थिरता कायम गर्न र नेपालमा बैङ्किङ प्रथाको विकास गराउने जस्ता कार्य नेपाल राष्ट्र बैङ्कको प्रमुख कार्य भनी नेपाल राष्ट्र बैङ्क ऐन, २०१२ ले कानुनी जिम्मेवारी तोकिदिएको थियो । नेपाली नोट निष्कासनको प्रबन्ध गर्ने र राज्यभर नेपाली मुद्रा चलनचल्तीमा ल्याउन नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको २०१६ साल चैत २५ मा भएको निर्णयअनुसार नोटकोष स्थापना भएको देखिन्छ । सुरु अवस्थामा नोटकोष कार्यलयहरु नेपाल राष्ट्र बैङ्कको शाखा, उपशाखा, प्रशाखाबाट नोटकोष सञ्चालन भएको देखिन्छ ।

नेपाली नोटमा प्रयोग भएका सुरक्षण विशेषताहरुलाई देहायका चित्रमा प्रस्तुत गरिएको छ—

छामेर थाहा पाउने विशेषता
सक्कली नोट छाम्दा खस्रो हुन्छ भने नक्कली वा खोटा नोट छाम्दा चिल्लो हुन्छ । किनभने सक्कली नोट रूवाबाट तयार पारिएको कागजबाट बनाइन्छ भने नक्कली वा खोटा नोट काठ वा बाँसको कागजबाट बनाइन्छ । सक्कली नोटमा नेपाली अङ्क लेखिएका ठाउँमा छाम्दा अलिकति उठेको हुन्छ भने नक्कली वा खोटा नोटमा त्यस्तो विशेषता हँुदैन । नेपाली नोटहरुमा नेत्रहीनहरुका लागि छामेर नोटको दर पत्ता लगाउन सक्ने गरी विशेषतासमेत राखिएको छ । रु. १००, रु. ५०० र रु. १००० दरका नोटको अग्रभागमा रहेको लालीगुराँसको पानीछापभन्दा बायाँतर्फ नेत्रहीनहरुले छामेर थाहा पाउने क्रमशः एक, दुई र तीन ओटा गोलाकार थोप्ला राखिएका छन् ।

हेरेर थाहा पाउने विशेषता
सक्कली नोटमा प्रयोग भएको मसी गाढा हुुने र पानीले भिज्दा यसको रङमा कुनै फिका आउँदैन । सबै दरका नोटहरूको दायाँतर्फ सेतो खाली स्थानमा लालीगुराँसको प्रस्ट चित्र देखिने पानीछाप (वाटरमार्क) छ । १०० दरको नोटको सुरक्षण धागो (सेक्युरिटी थ्रेड) अङ्ग्रेजीमा एनआरबी र अङ्ग्रेजीमै १०० लेखिएका रातो रङबाट हरियो रङमा परिवर्तन हुने ‘कलर सिफ्टिङ थ्रेड’ छ । नयाँ सिरिजको ५०० दरमा रातो रङबाट हरियो रङमा परिवर्तन हुने ‘कलर सिफ्टिङ थ्रेड’ रहेको, सुरक्षण धागोमा अङ्गे्रजी अक्षरले एनआरबी, ५०० लेखिएको र बाघको चित्र रहेको, कुवेरको चित्रमा सुनौलो रङबाट हरियो रङमा परिवर्तन हुने ‘अप्टिकल्ली भेरियबल इन्क (ओभीआई)’ रहेको छ । त्यसैगरी १०, २०, ५० र १००० दरका नोटहरूको सुरक्षण धागोमा अङ्ग्रेजी अक्षरले एनआरबी लेखिएको हुन्छ । १००० दरको नोटहरूको अग्रभागको दायाँतर्फको माथिल्लो भागमा केही उठेको धर्सा–धर्र्सा देखिने लम्बाइ १३ मिलिमिटर र चौडाइ औसत ११.५ मिलिमिटरको प्रस्ट देखिने ‘प्रिन्टेड इम्बोस्ड एन्टिकपी की (पीईएके)’ फिचर छ भने पीईएके फिचरको मुन्तिर आधा अङ्गे्रजी अक्षर एनआरबी लेखिएको ‘सी थ्रू रजिस्टर’ सुरक्षा विशेषता छ, जसलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा प्रस्ट र पूरा एनआरबी देखिन्छ । १०० र ५०० दरका नोटहरूको अग्रभागको दायाँतर्फको माथिल्लो भागमा पनि आधा अङ्गे्रजी अक्षर एनआरबी अङ्कित ‘सी थ्रू रजिस्टर’ सुरक्षा विशेषता छ । १००, ५०० र १००० दरका नोटहरूको अग्रभागको दायाँतर्फको तलतिर फरक क्षमता भएका दृष्टिविहीनहरूले नोटको दर थाहा पाउन सजिलो होस् भनी क्रमशः एक, दुई र तीन केही उठेका थोप्लाहरूको सुरक्षा व्यवस्था छ ।

सुनेर थाहा पाइने विशेषता
सक्कली नोटहरुलाई कानको नजिक लगेर हल्लाउँदा तीखो, क्रिस्प आवाज आउँछ । नक्कली नोटहरु लुलो हुने हुँदा सक्कली नोट जस्तो आवाज आउँदैन ।

मेसिनको सहयोगले थाहा पाउने विशेषता
नोटमा रहने सुरक्षण धागो, नोट छपाइमा प्रयोग हुने मसी, नोट छपाइको प्रक्रिया आदिलाई मेसिनको प्रयोगबिना थाहा नहुने तर नोट सर्टिङ मेसिन ‘करेन्सी भेरिफिकेसन एन्ड प्रोसेसिङ सिस्टम (सीभीपीएस) का माध्यमले थाहा हुने गरी बनाइएको हुन्छ । नेपाली नोटहरुान समेत यस्ता विशेषता प्रयोग गरिएका छन् ।
साथै, नेपाली नोटमा प्रयोग भएका सुरक्षण विशेषतालाई नोट प्रयोगकर्ताका आधारमा तीन वर्गमा वर्गीकरण गर्न सकिन्छ—

पहिलो तहको सुरक्षण विशेषता भन्नाले सर्वसाधारणले कुनै औजार वा मेसिनरीको प्रयोगबिना पत्ता लगाउन सक्ने नोटमा रहेका सुरक्षण विशेषतालाई जनाउँछ । दोस्रो तहको सुरक्षण विशेषतालाई नियमित रुपमा नोटको कारोबारमा संलग्न हुने जस्तै— बैङ्कको तेलर, खजान्ची, काउन्टरका कर्मचारी, दोकानदार आदिले सामान्य मेसिनरी तथा औजार जस्तै ‘म्याग्निफाइङ ग्लास’, ‘यूभी लाइट’को सहायताले पत्ता लगाउन सक्छन् । त्यसैगरी, नोट छपाइमा प्रयोग हुने कागज, मसी, छपाइ प्रविधि, अक्षर (फन्ट्स), डिजाइनको आकृति जस्ता विशेषताको जानकारी नोट छपाइ तथा निष्कासन गर्ने सम्बन्धित केन्द्रीय बैङ्कलाई मात्र थाहा हुने गरी राखिने सुरक्षण विशेषता तेस्रो तहको सुरक्षण विशेषताअन्तर्गत पर्दछन् ।

(निरौला नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागमा कार्यकारी निर्देशक छन् ।)