वेबसर्फरका तीन भाइ क्षेत्रीले यसरी ठगे विदेशी लगानीकर्ता

वेबसर्फर सञ्चालन गर्ने तीन दाजुभाइ सुरेन्द्र क्षेत्री, सुमन क्षेत्री र शैलेन्द्र क्षेत्रीले बेलायत बस्ने व्यवसायी के.टी. विमलनाथनलाई संयुक्त साझेदारीमा व्यवसाय गर्ने भन्दै करोडौं लिएर नक्कली सेयर प्रमाण–पत्रसमेत दिएका छन् ।

वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिले ब्रोडब्यान्ड इन्टरनेटलगायतको व्यवसाय सञ्चालनका लागि भन्दै एक विदेशी लगानीकर्तालाई ठगेका छन् ।

वेबसर्फर सञ्चालन गर्ने तीन दाजुभाइ सुरेन्द्र क्षेत्री, सुमन क्षेत्री र शैलेन्द्र क्षेत्रीले बेलायत बस्ने व्यवसायी के.टी. विमलनाथनलाई संयुक्त साझेदारीमा व्यवसाय गर्ने भन्दै करोडौं लिएर नक्कली सेयर प्रमाण–पत्रसमेत दिएका छन् ।

करोडौं लगानी गरेर नक्कली सेयरको प्रमाणपत्र पाएपछि आफू ठगिएको भन्दै विमलनाथनले नेपाल आएर उजुरी गरेपछि सुरेन्द्र क्षेत्रीलाई पक्राउ गरिएको छ । क्षेत्रीका तीन दाजुभाइले कम्पनीमा साझेदारी गर्ने भन्दै आफूसँग ३२ करोड लिएको विमलनाथनले प्रहरीलाई जानकारी गराएका थिए । क्षेत्रीलाई प्रहरीले मङ्सिर २४ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो ।

विमलनाथनले प्रहरीलाई दिएको जाहेरीमा तीन भाइले आफूसँगबाट करोडौं लिएर विदेशी लगानीको प्रक्रिया पनि पूरा नगरेको र नक्कली सेयर प्रमाणपत्र दिएको उल्लेख गरेका छन् । ५१ प्रतिशत सेयर दिने गरी लगानी गरेको भए पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझ्दा सेयरधनीको सेयरलगतमा आफूलाई समावेश नगरेको उनले जनाएका छन् ।

नेपाल आएको बेला क्यापिटल नेपालसँग कुरा गर्दै विमलनाथनले सुरुमा केही रकम विदेशी लगानी ल्याउनका लागि सरकारी खर्च भनेर लिए पनि विदेशी लगानीको समेत प्रक्रिया क्षेत्री दाजुभाइले पूरा नगरेको बताए । ‘कहिले कम्पनीको लगानीका लागि त कहिले सरकारी खर्च भन्दै पटक पटक रकम मागे, मैले पनि दिइरहें,’ उनले भने, ‘पछि नक्कली प्रमाणपत्र दिए ।’ बीचमा पैसा तिर्ने गरी कागजपत्र भए पनि नतिरेपछि नेपाल प्रहरीलाई उजुरी गरेको हो, उनले भने ।

क्षेत्री दाजुभाइले विमलनाथनलाई छल्नकै लागि वेबसर्फर कम्पनीलाई निस्क्रिय पारेर त्यसको पूर्वाधार र लगानी नयाँ कम्पनी स्काई केबल टीभी प्रालिमा लगानी गरेका थिए ।

‘मलाई ठग्नकै लागि कम्पनीको सम्पूर्ण पूर्वाधार, लगानी र कर्मचारी अर्काे कम्पनीमा सारियो,’ उनले भने । आफूले गरेको लगानी हिस्सा फिर्ता माग्दा धम्कीसमेत दिएपछि प्रहरीमा उजुरी गरेको उनले बताए ।

कम्पनीको १० प्रतिशत सेयर रहेका कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन प्रधानले पनि क्षेत्री दाजुभाइले ठगी गरेको बताए । कम्पनी नाफामा गएपछि कम्पनीको खाताबाट एकै पटक १० करोडभन्दा बढी रकम पनि निकालिएको छ, उनले भने ।

मुद्दा कमजोर बनाउने दाउमा २ दाजुभाइ
तीन दाजुभाइमध्ये एक मात्र पक्राउ परेपछि बाँकी २ जनाले प्रहरीमा मुद्दा कमजोर बनाउन शक्तिकेन्द्र धाउन थालेका छन् । विमलनाथनलाई पैसा फिर्ता गर्दा ३२ करोड बढी फिर्ता गराउनुपर्ने र सेटिङमा ५ करोड खर्च गर्ने भन्दै दुई दाजुभाइ लागेको वेभसर्फरमा कार्यरत एक उच्च पदका कर्मचारीले क्यापिटल नेपाललाई बताए ।