प्रतियोगिता उद्घाटनस्थल नेपालगञ्ज रङ्गशाला र अन्य निर्माणका लागि आवश्यक पर्ने नदीजन्य उत्पादन ग्राभेल, गिटी र बालुवा निकासी गर्न रोक भएका कारण निर्माणको काममा अवरोध भएको छ ।
राँझा : नदीजन्य वस्तुको अभावका कारण आठौँ राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा अवरोध भएको छ । प्रतियोगिता उद्घाटनस्थल नेपालगञ्ज रङ्गशाला र अन्य निर्माणका लागि आवश्यक पर्ने नदीजन्य उत्पादन ग्राभेल, गिटी र बालुवा निकासी गर्न रोक भएका कारण निर्माणको काममा अवरोध भएको प्रादेशिक खेलकूद परिषद्, प्रदेश नं ५ अध्यक्ष तथा भौतिक पूर्वाधार निर्माण तथा खेल स्थल तयारी उपसमिति संयोजक भीम ओलीले बताए ।
उनले रङ्गशालामा ट्र्याक बनाउनमात्र चार हजार १०० घनमिटर ग्राभेल आवश्यक परेको अवस्थामा नदीजन्य वस्तु निकासी बन्द भएका कारणले भौतिक पूर्वाधारको निर्माणमा समस्या भएको गुनासो गरे । नेपालगञ्ज रङ्गशालालाई पहिलो प्राथमिकतामा राखेर निर्माणको काम भइरहेको ओलीको भनाइ छ ।
“आठौँ राष्ट्रिय खेलकूद पनि राष्ट्रिय गौरवको कार्यक्रम भएकाले रङ्गशाला निर्माणमा आवश्यक पर्ने ग्राभेल सोहीअनुसार उपलब्ध गराइदिन जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार गुहार्दा गुहार्दै उद्घाटनको दिन आउन लागिसक्यो तर सुनुवाइ भएको छैन”, उनले भने ।
आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनाको औसत ६५ प्रतिशत निर्माण पूरा भएको बताइएको छ । बाँकेको सीतापुरमा निर्माण भइरहेको भलिबल एकेडेमी, कोहलपुरस्थित क्रिकेट मैदान, नेपालगञ्जस्थित ह्याण्डबल कोर्ट, बर्दियाको बासँगढीस्थित कबडी हल, बर्दियाको गुलरियास्थित एथलेटिक्स ट्र्याक, नेपालगञ्जस्थित फुटबल मैदान र एथ्लेटिक्स ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
प्रतियोगिताका लागि ३५ अाेटा संरचना निर्माण भइरहेका छन् । प्रादेशिक खेलकूद परिषद्, प्रदेश नं ५ अध्यक्ष ओलीले, बाँकेमा नौ, बर्दिया, दाङ र रुपन्देहीमा चारचार तथा कपिलवस्तु र पाल्पामा एकएक भौतिक संरचना निर्माण भइरहेको उल्लेख गरे । रासस