वेबसर्फर कान्डमा तानियो सिटिजन्स बैङ्क, राष्ट्र बैङ्कले लगायो २० लाख जरिवाना

राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागका अनुसार एउटा प्रयोजनमा लिएको ऋण अर्कै प्रयोजनमा खर्च भएको भेटिएपछि लगानी गरेको कर्जा जोखिममा राखेर २० लाख रुपैयाँ जरिवाना गर्नुपरेको हो ।

नेपाल राष्ट्र बैङ्कले अनधिकृत रुपमा कर्जा प्रवाह गरी सर्वसाधारणको निक्षेप जोखिममा पारेको भन्दै सिटिजन्स बैङ्क इन्टरनेसनललाई १० करोड रुपैयाँ जोखिममा राख्न लगाउनुका साथै २० लाख रुपैयाँ नगद जरिवाना गरेको छ । राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागका अनुसार एउटा प्रयोजनमा लिएको ऋण अर्कै प्रयोजनमा खर्च भएको भेटिएपछि लगानी गरेको कर्जा जोखिममा राखेर २० लाख रुपैयाँ जरिवाना गर्नुपरेको हो ।

तर, राष्ट्र बैङ्कका प्रवक्तासमेत रहेका बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेलले बैङ्क तथा वित्तीय संस्थालाई कस्तो प्रकृतिको कारवाही गरिएको हो/होइन भन्ने विषयमा केही बताउन नमिल्ने जानकारी दिए । उनले वित्तीय संस्थालाई राष्ट्र बैङ्कले आफ्नो सुपरिवेक्षकीय निगरानीमा राखेपनि कारवाही गरे/नगरेको सार्वजनिक जानकारी नदिइने बताए ।

वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिका सञ्चालकद्वय सुमन क्षेत्री र सुरेन्द्र क्षेत्रीले २०७२ फागुन ३० (सन् २०१६ मार्च १३) गते फर्जी व्यक्ति खडा गरी एकै दिन २२ ओटा बियरर चेकमार्फत् करिब १० करोड रुपैयाँ कर्जा अनधिकृत रुपमा निकाली सम्झौताविपरीत व्यक्तिगत प्रयोजनमा खर्च गरेको देखिएको भन्दै राष्ट्र बैङ्कले कारवाही गरेको हो ।

यद्यपि सुरुआती चरणमा राष्ट्र बैङ्क, सिटिजन्स बैङ्क र कम्युनिकेसनका सञ्चालकद्वय क्षेत्री मिलेर यो प्रकरणलाई दबाएको भनिए पनि अख्तियार दुरुपयोग अनुसन्धानले गत भदौमा यस सम्बन्धमा यथार्थ अध्ययन गरी कारवाही गर्न भनेपछि राष्ट्र बैङ्क बाध्य भएर कारवाही गर्न पुगेको राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागका एक निर्देशकले जानकारी दिए । ‘सिटिजन्स बैङ्कका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भयडारी केन्द्रीय बैङ्ककै पूर्व कार्यकारी निर्देशक भएको र राष्ट्र बैङ्कको वर्तमान व्यवस्थापनसँग राम्रो सम्बन्ध रहेकाले कारवाही नगर्न दबाब थियो,’ ती निर्देशकले भने, ‘तर, अख्तियारबाटै कारवाही गर्नु भन्ने पत्र आएपछि बाध्य भएर केही दिन अघि मात्रै कारवाही गरिएको हो ।’ अख्तियारले राष्ट्र बैङ्कलाई गत असोज १२ गते पत्राचार गरेको थियो ।

वेबसर्फरका अर्का सञ्चालक सुमन प्रधानले आफ्नो कम्पनीको नाममा लिइएको ऋण दुरुपयोग भएको भन्दै २०७४ फागुनमा राष्ट्र बैङ्कमा उजुरी दिएपनि त्यसको सुनुवाइ भएको थिएन । उनको उजुरीपछि केन्द्रीय बैङ्कले सहायक निर्देशकद्वय लक्ष्मीनारायण ताम्राकार र सत्येन्द्रमणि त्रिपाठीलाई कर्जाको यथार्थ स्थिति र स्थलगत निरीक्षण अनुगमन गर्न पठाएको थियो । निर्देशकद्वयले तयार पारेको स्थलगत निरीक्षण प्रतिवेदनमा पनि एउटा प्रयोजनमा लिइएको कर्जा अर्कै प्रयोजनमा खर्च भएको उल्लेख छ । लामो समयसम्म केन्द्रीय बैङ्कले यस विषयलाई चासो दिएको थिएन ।

याे  पनि पढ्नुस ।