तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले दाङमा पर्ने मदन भण्डारी राजमार्गको रेखाङ्कन तथा निर्माणका लागि आज सहमति गरेका हुन् ।
लमही : दाङका चार स्थानीय तहले मदन भण्डारी राजमार्ग रेखाङ्कन तथा निर्माणका लागि सहमति गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले दाङमा पर्ने मदन भण्डारी राजमार्गको रेखाङ्कन तथा निर्माणका लागि आज सहमति गरेका हुन् ।
तुलसीपुरमा बसेको चार स्थानीय तहको बैठकले घोराही उपमहानगरपालिका–१७ डबरी ड्यामदेखि सालघारी, अम्मापुर, पिपलबोट, मसिना, फुर्सेखाली, सामुदायिक वन उपभोक्ता समितिको भवन हुँदै, राणी जरुवा, बाह्रकुने दह, आँँखा अस्पताल सडकहुँदै तुलसीपुर पुर्याउने सहमति भएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टी, भट्टे, वडा नं–१ को भमके, देवीथान, छोटेसम्मको निर्माण तथा रेखाङ्कन गर्ने सहमति भएको छ ।
त्यस्तै शान्तिनगर गाउँपालिकामा बयाले, लालपुर, केराघारी, भलानेटी, रातिपोखरी, अम्बापुर, बगियासम्म सहमति भएको छ । त्यस्तै बबई गाउँपालिकाको गौरी गाउँ, सुन्दरखाल घट्टेखोला हुँदै सुर्खेत रोड जोड्ने गरी सहमति भएको हो ।
निर्माणको कार्यलाई छिटो अगाडि बढाउन भौतिक योजना तथा पूर्वाधार मन्त्रालय, प्रदेश सरकार तथा मदनभण्डारी राजमार्गको कार्यालयलाई ध्यानाकर्षण गराउने समेत निर्णय भएको छ । रासस