नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम गरिरहेको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बेतन कर्णालीको सम्भाव्यता अध्ययन गर्न अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ ।
काठमाडौं : कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताबाट ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना बनाउन करिब ६ अर्ब रुपैयाँ जुटेको छ । सञ्चयकर्ताले पाउने नाफा रकमको ०.७५ प्रतिशत बेतन कर्णालीमा सेयरका रुपमा लगानी गर्न लागेको हो । गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड जुटेकोमा यो वर्ष नाफा बढेकाले ३ अर्ब रुपैयाँ थप हुने कोषका प्रशासक तुलसी गौतमले बताए । यो वर्षसम्म गरी झन्डै ६ अर्ब रुपैयाँ हाराहारीमा लगानी जुट्ने उनले जानकारी दिए ।
हाल लेखापरीक्षणको काम भइरहेकाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सञ्चयकर्तालाई लाभांश वितरण भइनसकेको गौतमले स्पष्ट पारे । ‘गतवर्षको नाफा हेर्दा सञ्चयकर्ताबाट ३ अर्ब रुपैयाँभन्दा बढी लगानी सेयरमा रुपान्तरण हुने देखिएको छ,’ उनले भने ।
आयोजना बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माण हुन लागेको हो । आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुट्ने देखिएको छ । कोषका सञ्चयकर्ताबाट ६ वर्षमा ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । ५० अर्ब रुपैयाँ बैङ्कबाट ऋण लिने योजना तय भएको छ । आयोजनामा नबिल बैङ्क र नेपाल एसबीआई बैङ्कले ऋण लगानीगर्ने समझदारी गरेका छन् ।
हाल नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम गरिरहेको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बेतन कर्णालीको सम्भाव्यता अध्ययन गर्न अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ ।
कम्पनीका सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानी सम्बन्धित विनियमावली बनाइसकेको छ । आयोजनामा कोष र विद्युत् प्राधिकरणको पनि लगानी हुनेछ । गत आर्थिक वर्ष ०७३÷०७४ देखिको नाफालाई आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरेको हो ।
अर्धजलाशययुक्त (पिकिङ रअ अफ दी रिभर) प्रकृतिको यो आयोजना बनाउन७० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजनाबाट वार्षिक ४ अर्ब २६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यसअनुसार हिउँदमा १ अर्ब ४९ करोड २० लाख र बर्खामा २ अर्ब ७७ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ ।
कोषका सञ्चयकर्ताबाट ६ वर्षमा ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । काम सुरु गरेको ६ वर्षमा आयोजनाको काम सम्पन्न हुनेछ । आयोजना सुर्खेत र आछममा पर्छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १६ किलोमिटर लामो पहुँचमार्ग र ५ किलोमिटर लामो प्रसारण लाइन बनाउनुपर्ने देखिएको छ ।