बिटक्वाइन: अभौतिक मुद्रा, अदृश्य लगानी

नेपाली बजारमा पनि बिटक्वाइनको कारोबार करीब ५ वर्षअघि नै सुरु भएको सम्बद्धहरुले बताएका छन् । तर, कारोबार सुरु भएको झन्डै आधा दशकपछि केन्द्रीय बैङ्कले यसबारे पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै नेपालमा सबैखाले क्रिप्टाेकरेन्सीकाे काराेबारमाथि प्रतिबन्ध लगाइएकाे उद्घाेष गरेकाे छ ।

गत साउन अन्त्यमा नेपाल राष्ट्र बैङ्कले आफ्नो वेबसाइटमार्फत सूचना जारी गर्याे, ‘नेपालमा बिटक्वाइनको कारोबार प्रतिबन्धित छ ।’ नेपालबाट बिटक्वाइनको कारोबार सुरु भएको झन्डै आधा दशकपछि केन्द्रीय बैङ्कले यसबारे पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्याे । केही समयअघि महानगरीय प्रहरी महाशाखाले बिटक्वाइन कारोबारमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको थियो । उनीहरुलाई कस्तो कारबाही चलाउने भन्ने स्पष्ट नभएपछि प्रहरीले राष्ट्र बैङ्कसँग राय माग्यो । प्रहरीको त्यस्तो पत्र पाएपछि नेपालमा पनि बिटक्वाइन कारोबार हुन्छ भन्ने जानकारी राष्ट्र बैङ्कले पायो र त्यस्तो कारोबारलाई अवैध करार गर्ने निर्णयमा पुग्यो ।

नेपाली बजारमा पनि बिटक्वाइनको कारोबार करीब ५ वर्षअघि नै सुरु भएको सम्बद्धहरुले बताएका छन् । ‘जतिबेला बिटक्वाइन कारोबार सुरु भयो, त्यहीताका नेपालमा कमेडिटी बजारबारे ठूलो हङ्गामा भइदियो,’ कारोबारमा संलग्न एक लगानीकर्ताले भने, ‘त्यसपछि कारोबार केही खुम्चियो र हल्ला हुन पाएन ।’ सन् २०१३ पछि अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दै जाँदा नेपालमा पनि कारोबार घटेको थियो । हाल विश्वबजारमा यसको भाउ महँगिएको र सरकारले कमोडिटी बजार नियमन गर्ने कानुन बनाउन थालेको अवस्थाले धेरै लगानीकर्तालाई बिटक्वाइनमा लगानी गर्न उत्साहित गरेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनलाई भुक्तानी उपकरणका रुपमा बढी प्रयोग गर्ने गरिए पनि नेपालमा त्यस्तो अभ्यास छैन । यहाँबाट हुने कारोबारको ठूलो हिस्सा लगानी गर्ने उद्देश्यमा भएको देखिन्छ । नेपालीहरुले डेरिभेटिभ बजारको उपकरणका रुपमा यसलाई बुझेका छन् । एक किसिमले ‘प्राइस हेजिङ’ (भविष्यमा हुने मूल्य उतारचढावको जोखिम छल्ने) गर्ने ढङ्गले नेपालीले बिटक्वाइनमा लगानी गरेर सञ्चिति बढाउन थालेको सम्बद्ध कारोबारीहरु बताउँछन् ।

बिटक्वाइनमा नेपालबाट हुने कारोबारको आकार कत्रो छ र कति नेपाली यसमा संलग्न छन् भन्ने स्पष्ट छैन । तर, सयौँले यसमा लगानी गरेको अनुमान छ । ‘थुप्रै मानिसले लगानी गरिरहेका छन्,’ अर्का बिटक्वाइन लगानीकर्ताले भने । उनका अनुसार नेपालमै बसेर यहीँबाट लगानी गर्नेबाहेक विदेशमा भएका साथी, आफन्तमार्फत लगानी गर्ने नेपालीको सङ्ख्या पनि ठूलो छ ।

सम्बद्धहरुका अनुसार कतिपय व्यापारी र ठूला उद्योगपतिले भने सम्पत्ति सञ्चित गर्न पनि बिटक्वाइनमा लगानी गरिरहेका छन् । पछिल्लो समय भारतमा त्यहाँको सरकारले चलनचल्तीका ठूला दरका बैङ्क नोटमा प्रतिबन्ध लगाएपछि बिटक्वाइनमा लगानी गरेर सम्पत्ति सञ्चित गर्न थालेको खबर विश्वभर फैलिएको छ । पछिल्लो डेढ वर्षमा बिटक्वाइनको भाउमा आएको उच्च वृद्धिको प्रमुख कारणमध्ये भारतको विमौद्रिकीकरण नीति पनि रहेको बताइन्छ । यससँगै नेपाली व्यवसायीले पनि भारतीयकै सिको गरेर बिटक्वाइनमा लगानी गर्ने र सम्पत्ति सञ्चित गर्न थालेको कारोबारमा सम्बद्धहरु बताउँछन् ।

कसले गर्छ नेपालमा कारोबार ?
विगतमा नेटवर्क मार्केटिङ (युनिटीलगायत), कमोडिटी र डेरिभेटिभ बजारमा संलग्नहरुले नै नेपालमा बिटक्वाइनको कारोबार गराइरहेका छन् । वित्तीय बजारका नवीनतम उपकरणहरुमा हात हाल्दै जाने यस्तो समूह नेपालमा ठूलो छ । यस्तो समूहले विगतदेखि नै विश्वबजारमा देखिएका वित्तीय उपकरणहरुलाई नेपाल भिœयाउने र त्यसबाट ठूलो आर्थिक लाभ हासिल गर्ने गरिरहेको छ । नेटवर्क मार्केटिङ र कमोडिटीबाहेक विभिन्न फ्युचर्स डेरिभेटिभ्स बजारमा उनीहरुले लगानी गरिरहेका छन् ।

केही वर्षयता नेपालबाट हुने विदेशी मुद्रा (फरेन एक्सचेन्ज)को फ्युचर्समा मात्रै वार्षिक एक अर्ब अमेरिकी डलर (करिब एक खर्ब रुपैयाँ)बराबरको कारोबार भइरहेको अनुमान छ, जुन नेपालको कुल वस्तु निर्यातभन्दा बढी हो । यसबाहेक विदेशी प्लेटफर्मबाट नेपालीहरुले थुप्रै डेरिभेटिभ कारोबार गरिरहेका छन् । विदेशी बजारमा सेयर लगानी गर्ने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । यस किसिमको कारोबार गरिरहेका लगानीकर्ताका लागि पोर्टफोलियो व्यवस्थापन गर्ने नयाँ उपकरण प्राप्त भएको छ, बिटक्वाइन ।

गैरकानुनी काम
यस्ता समूहले विश्व सञ्जालमा जोडिएर नेपालबाट गर्ने सबैजस्ता कारोबार गैरकानुनी हुन् । केही दिन अघिमात्रै कमोडिटी बजार सञ्चालनसम्बन्धी ऐन संसद्बाट पारित भएको छ । त्यसबाहेक अन्य बजारको नियमन गर्ने कानुनी आधारको खाकासमेत बनेको छैन । त्यसकारण कानुनी रुपमा यी कुनै पनि व्यवसाय वा कारोबार नेपालबाट गर्न पाइन्न । नेपालको कानुनले विदेशमा पुँजी लगानी गर्न प्रतिबन्ध लगाएको छ । यसरी हुने कारोबारको भुक्तानी प्रणाली पनि कानूनविपरीत छ । बिटक्वाइनमा गरेको लगानी होस् वा अन्य डेरिभेटिभ्सको लगानी, ती सबैको भुक्तानी हुन्डीमार्फत हुन्छ । हुन्डीबाट हुने कारोबारलाई कानुनले बन्देज गरेको छ ।

लाभको अवसर
लगानीकर्ताहरु विश्वबजारमा वित्तीय नवप्रवर्तनबाट प्राप्त हुने यस्ता अवसरहरुबाट लाभ लिनुपर्ने बताउँछन् । ‘हाम्रो सरकारले वित्तीय बजारको विस्तार गर्न यस्ता नवीनतम उपकरणहरुलाई वैधता दिनुपथ्र्यो,’ बिटक्वाइनमा लगानी गरिरहेका अर्का एक लगानीकर्ताले भने, ‘तर, राज्यले कानुन बनाएन भनेर हामीले अवसर गुमाउनुहुन्न ।’ उनले लागुऔषध कारोबार, आतङ्कवादी क्रियाकलापजस्ता आपराधिक गतिविधिमा वित्तीय लगानी गर्नुलाई मात्रै ‘गैरकानुनी’ करार गर्नुपर्ने दाबी गरे । ‘सरकारले दुई वर्षअघि कानुन बनाएर नेपालीलाई बिटक्वाइनमा लगानी गर्न भनेको भए अहिले बसीबसी अर्बौं डलर नेपाल भित्रिन सक्थ्यो,’ उनले थपे, ‘केही लगानीकर्ताले सरकारलाई छलेर नै भए पनि विश्वबजारबाट लाभ लिएका छन्, यो हाम्रो अर्थतन्त्रका लागि समेत फलदायी कुरा हो ।’

लगानी जोखिम
केही सातायता क्रिप्टोकरेन्सीमा लगानी गर्ने केही नेपाली लगानीकर्तामा त्रास फैलिएको छ । ‘हामीले बढी लगानी गरेको एउटा (बिटक्वाइनजस्तै अर्को नामको) क्वाइन अमेरिकामा बनाइएको भनिएको थियो,’ एकजना लगानीकर्ताले भने, ‘तर त्यो नेपालीले नै बनाएको हुन सक्ने आशङ्का बढेको छ ।’ ती लगानीकर्ताले भनेजस्तै विश्वमा बिटक्वाइनजस्ता थुप्रै क्रिप्टोकरेन्सी बनाइएको छ । बिटक्वाइनको प्रमाणीकरण र अभिलेख प्रणालीमा लगानीकर्ताहरुको विश्वास बढ्दै गए पनि त्योभन्दा सस्तो मूल्यमा पाइने अन्य क्रिप्टोकरेन्सीहरुको विश्वसनीयता बढ्न सकेको छैन । त्यसकारण जथाभावी पाइने क्रिप्टोकरेन्सीमा लगानी गर्दा उच्च जोखिम मोल्नुपर्ने अवस्था छ । यसबाट जोगिन लगानीकर्ता सचेत हुनुपर्नेछ ।

यसबाहेक क्रिप्टोकरेन्सीको सट्टेबजारमा हुने तीव्र उतारचढाव यसको अर्को जोखिम हो । सन् २०१६ मा बिटक्वाइनका लगानीकर्ताले एक सय ४० प्रतिशतसम्म प्रतिफल पाएका थिए । तर, यसको मूल्य उतारचढाव अमेरिकी सेयर बजार ‘एस एन्ड पी ५००’ को तुलनामा पाँचगुणा बढी रहेको विश्लेषकहरुले बताएका छन् । यस्तो उतारचढाव जति धेरै भयो, लगानीकर्ताका लागि अवसरसँगै जोखिम पनि त्यति नै बढी हुन्छ ।

यसैबीच, साउन तेस्रो साता अन्तर्राष्ट्रिय मिडियाहरुमा अर्को समाचार भाइरल भयो, बिटक्वाइनको विभाजन । पहिलेको बिटक्वाइनको विभाजन भएर ‘बिटक्वाइन क्यास’ नामको अर्को क्रिप्टोकरेन्सी उद्घटित भएपछि बिटक्वाइनको भाउ विश्वबजारमा नै सस्तिएको छ । संसारका कुनै पनि सरकारको नियमनमा नभएको र भौतिक अस्तित्व पनि नभएको यस्तो मुद्रामा लगानी गर्न निकै सोचविचार गर्नुपर्छ भन्ने सन्देश पनि यो घटनाले दिएको छ ।
नेपालमा बसेर बिटक्वाइनमा लगानी गर्ने लगानीकर्ताका लागि सबैभन्दा ठूलो जोखिमचाहिँ राष्ट्र बैङ्कले हालै जारी गरेको सूचना र प्रहरीलाई दिएको पत्रको विवरण हो । जसले विद्यमान कानुनको व्याख्यामार्फत क्रिप्टोकरेन्सीको कारोबारलाई अवैधानिक घोषणा गरेको छ ।

विश्वबजारमा फैलिँदो कारोबार
नेपालमा अवैध ठहरिएको बिटक्वाइनको बजार विश्वमा भने तीव्र गतिमा फैलिएको छ । कतिसम्म भने यसलाई नयाँ ‘विश्व मुद्रा’को संज्ञा पनि दिन थालिएको छ । तर, यो कुनै बैङ्क वा सरकारले निस्कासन गरेको मुद्रा होइन, यो त ‘डिजिटल’ मुद्रा हो, जसलाई क्रिप्टोकरेन्सी भनेर चिनिन्छ ।
सन् २००९ को फ्रेबुअरीबाट अस्तित्वमा आएको बिट क्वाइनलाई विकेन्द्रीकृत मुद्राका रुपमा लिन सकिन्छ । कम्प्युटर नेटवर्किङको सहायताले पृथ्वीको जुनसुकै स्थानबाट कारोबार र भुक्तानी गर्न सकिने तथा कारोबारको प्रमाणीकरण र अभिलेख पनि विश्वव्यापी रुपमै राखिने भएकाले बिटक्वाइन विश्वमुद्राका रुपमा अनौपचारिक स्वीकार्य हुँदै गएको हो ।

गणितीय आधारमा सिर्जना हुने बिटक्वाइनको सङ्ख्या तुलनात्मक रुपमा निकै कम छ । हालको बिटक्वाइन सफ्टवेयरले एक सय ३१ वर्षसम्ममा संसारभर जम्मा दुई करोड १० लाख क्वाइन सिर्जना गर्छ । तर, यसलाई ज्यादै सानो एकाइमा विभाजन गर्न सकिने सुविधा भएको र अत्यन्त महँगो हुँदै गएकाले पनि यसको उपयोग विश्वव्यापी भुक्तानीमा बढ्ने अनुमान गरिएको छ ।

तथापि, परम्परागत मौद्रिक प्रणालीभन्दा पृथक् हुनु, कुनै पनि राज्य वा केन्द्रीय बैङ्कको नियमनको दायरामा नरहनुजस्ता कारणले अमेरिकी डलर वा युरोजस्तै अन्तर्राष्ट्रिय भुक्तानीको औपचारिक मान्यता पाउन भने सकेको छैन । संसारका केही केन्द्रीय बैङ्कले आफै अभौतिक मुद्रा जारी गर्नेबारे कुरा गर्न थाले पनि बिटक्वाइनलाई अन्तर्राष्ट्रिय भुक्तानीको औपचारिक मान्यता दिन भने हिचकिचाइरहेका छन् ।

के हो बिटक्वाइन ?
बिटक्वाइन संसारकै पहिलो ‘विकेन्द्रीकृत अभौतिक मुद्रा’ हो । यो विद्युतीय निस्सा पनि हो । सातोसी नाकामतो भन्ने छद्म नामधारी व्यक्तिले बिटक्वाइन सुरु गरेका थिए । ‘बिटक्वाइन माइनिङ’ भनिने जटिल कम्प्युटर पद्धतिबाट यस्ता विद्युतीय सिक्काको निर्माण गरिएको थियो । अहिले पनि संसारका जुनसुकै व्यक्तिले माइनिङ एप्लिकेसनमार्फत यस्ता सिक्का बनाउन सक्छन् ।

एकजनाले अर्कोलाई बिटक्वाइन बिक्री ग¥यो भने बिक्री गरिएको उक्त बिटक्वाइन सही हो वा होइन भन्ने जाँच गर्ने पद्धतिलाई माइनिङ भनिन्छ । यसरी जाँच गर्दा ब्लकचेन भनिने अभिलेखबाट प्रमाणीकरण भएपछि कारोबार सफल हुन्छ । यो काम गर्न जम्मा १० मिनेट समय लाग्छ । यसको कारोबारको प्रमाणीकरण र अभिलेखको सम्पूर्ण विवरण संसारभरका माइनिङ एप्लिकेसन चलाइएका सबै कम्प्युटरमा एकसाथ पुग्छ । त्यसकारण यसको रेकर्ड हराउने, नष्ट हुने वा कसैले परिवर्तन गरिदिने सम्भावना हुँदैन ।

सुरुमा ती छद्म नामधारी व्यक्तिले ५० ओटा बिटक्वाइनको बन्डल तयार गरेका थिए । त्यसपछि माइनिङबाट क्वाइन सिर्जना हुन थाल्यो । बिटक्वाइन आफै सिर्जना गर्न वा विश्वबजारबाट किन्न सकिन्छ । यसलाई मोबाइल वा कम्प्युटरमा एप्लिकेसन डाउनलोड गरेर राख्न (सञ्चित गर्न) पनि सकिन्छ । बिटक्वाइनको नियमअनुसार गणितीय आधारमा नयाँ क्वाइनहरु सिर्जना हुँदै जान्छन् । संसारमा दुई करोड १० लाखभन्दा बढी बिटक्वाइन सिर्जना हुन सक्दैन । यी सबै क्वाइन सिर्जना हुन सन् २१४० सम्म (अझै एक सय २३ वर्ष) लाग्छ । त्यसपछि भने हालको प्रणालीबाट नयाँ क्वाइन आउँदैन ।

बिटक्वाइनलाई निकै सानो एकाइ (आठ डेसिमल प्वाइन्ट)मा बाँड्न सकिन्छ । अर्थात् एक सय पैसाबराबर एक रुपैयाँ भएजस्तै १० करोड सातोसीबराबर एक बिटक्वाइन हुन्छ । मूल्य महँगो भए पनि यसको सूक्ष्म विभाजनले खुद्रा कारोबारको भुक्तानीमा पनि बिटक्वाइनको सहज प्रयोग गर्न सकिने अपेक्षा छ ।

बिटक्वाइन अस्तित्वमा आएको साढे आठ वर्षसम्म पनि यो कसले बनायो भन्ने कुरा खुलेको छैन । एकजना अस्ट्रेलियन नागरिक क्रेग राइटले दाबी गरे पनि पुष्टि गर्न सकेनन् । संसारभर तीव्र गतिमा यसको माग बढिसकेको अवस्थामा पनि कसैले दाबी नगर्नुमा के रहस्य हुन सक्छ ? ‘बिटक्वाइन संसारका प्रचलित मुद्राहरुको अस्तित्व नामेट पार्ने र कर प्रशासन तथा राज्यको आयस्रोतलाई बन्द गराउने षड्यन्त्रबाट सिर्जना गरिएको’ भन्ने आरोप पनि लागेको छ ।

कतिपय विज्ञहरु बिटक्वाइनको निर्माण कुनै एकजना व्यक्तिबाट मात्र भएको भन्नेमा विश्वास गर्दैनन् । प्राविधिकहरुको ठूलो समूह, संस्था वा कुनै राज्य नै त्यसमा संलग्न हुन सक्ने आशङ्का छ ।

यसरी फैलिँदै छ कारोबार
सुरुमा चिनियाँहरुले आफ्नो देशबाट अन्यत्र पुँजी पलायन गर्न बिटक्वाइन कारोबार बढाए र यसको भाउ पनि लगातार उकालो लाग्यो । पछि निरन्तरको साइबर हमलाले सन् २०१३ को अन्त्यबाट बिटक्वाइन सस्तियो र १२ सय डलर प्रतिक्वाइनबाट दुई सय डलरमा झ¥यो ।
गत अप्रिल १ देखि जापानले बिटक्वाइनलाई कानुनी मान्यता दिएपछि यसमा संसारभरका लगानीकर्ताको ध्यान तानिएको छ । त्यसबाहेक भेनेजुएलाको मुद्रा अस्वाभाविक रुपमा अवमूल्यन भएको र भारतमा पाँच सय तथा हजार दरका चलनचल्तीका नोटमा प्रतिबन्ध लागेपछि ती देशमा बिटक्वाइनको माग बढ्न थाल्यो । त्यहाँका नागरिकले आफूसँग भएको सम्पत्तिलाई बिटक्वाइनमा सञ्चित गर्न खोजेपछि यसको भाउ २०१६ मा शतप्रतिशतभन्दा धेरैले बढ्यो ।

अहिले चीनसँगको व्यापार घाटा घटाउन कडा कदम चाल्ने घोषणा गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डलरको अवमूल्यन गर्ने नीति लिन सक्ने आँकलन गरिएको छ । यसले पनि विश्वबजारमा बिटक्वाइनको भाउ उकालो लाग्न थप बल पुगेको छ ।

फोकस: एटीएम
संसारका ५८ मुलुकमा एक हजार चार सय १० बिटक्वाइन एटीएम खुलिसकेका छन् । सन् २०१३ को अक्टोबरमा क्यानडामा पहिलो बिटक्वाइन एटीएम खुलेको थियो । सन् २०१५ को अन्त्यसम्म (२६ महिना) मा पाँच सय चारओटा एटीएम खुले । त्यसयताका १९ महिनामा ९ सय ६ ओटा थपिएका छन् । त्यसमध्ये अमेरिका र युरोपमा अत्यधिक छन् । यही अगस्ट १ को तथ्याङ्कअनुसार अमेरिकामा नौ सय ३५, क्यानडामा दुई सय, बेलायतमा ७४, अस्ट्रियामा ४४ र स्पेनमा ३७ यस्ता एटीएम छन् ।

यस्ता एटीएममा आफ्नो देशको मुद्रा राखेर बिटक्वाइन किन्न सकिन्छ । आफ्नो वालेटमा भएको बिटक्वाइनलाई इन्टरनेटको सहायताले स्थानीय मुद्रामा परिवर्तन गरेर एटीएमबाट निकाल्न पनि सकिन्छ । पछिल्ला सातामा विश्वभर हरेक दिन दुईदेखि तीनओटा बिटक्वाइन एटीएम थपिँदै छन् । यसले बिटक्वाइनको विश्वव्यापी प्रयोगलाई बढाउने बिटक्वाइन एक्सचेन्जहरुको अपेक्षा छ ।

भौतिक मुद्रा प्रतिस्थापनको प्रश्न
अभौतिक मुद्राको फैलावटले हाल प्रचलनमा रहेका भौतिक मुद्राहरुको दीर्घकालीन अस्तित्वमाथि प्रश्न खडा गरेको छ । तर, बिटक्वाइनले मात्रै भौतिक मुद्राको प्रतिस्थापन गर्न सक्छ भन्ने आधार नभएको विज्ञहरु बताउँछन् । ‘किनभने बिटक्वाइन पनि सुनजस्तै सीमित छ । तर, भौतिक मुद्रा विश्वभरका केन्द्रीय बैङ्कहरुले आफ्नो विनिमय सञ्चितिका आधारमा कालान्तरसम्म बढाउँदै लान सक्छन्,’ उनीहरुको तर्क छ ।

तथापि, नोटरहित अर्थतन्त्र (क्यासलेस इकोनोमी) सिर्जना गर्नमा बिटक्वाइन एउटा थप विकल्प भने हुन सक्छ । अहिले पनि संसारमा करोडौँ थान नोट चलनचल्तीमा छन् । विश्वभर चलनचल्तीमा रहेका नोटको सङ्ख्या औसत ७ प्रतिशतले बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको अभिलेख छ । कुल गार्हस्थ्य उत्पादनको तुलनामा नोटको प्रयोग हेर्ने हो भने दक्षिण एसियामा यसको अनुपात बढी छ । नेपालमा कुल गार्हस्थ्य उत्पादनको १५ प्रतिशतको हाराहारीमा नगद रकम चलनचल्तीमा छ । भारतमा १३ र पाकिस्तानमा १० प्रतिशत रहेको राष्ट्र बैङ्कको अभिलेखमा छ ।

यस्ता बैङ्क नोटहरुलाई चेक, प्लास्टिक करेन्सी र विद्युतीय भुक्तानीका माध्यमहरुको प्रयोग बढाएर क्रमशः प्रतिस्थापन गर्दै लैजाने रणनीति संसारका थुप्रै केन्द्रीय बैङ्कहरुले अघि सारेका छन् । तैपनि, खुद्रा कारोबारको भुक्तानी गर्ने, आपत्कालीन अवस्थाका लागि सञ्चिति गर्नेजस्ता काममा बैङ्क नोटको प्रयोग लामो समय कायम रहन सक्ने पनि देखिन्छ । यस्ता भुक्तानीमा अभौतिक मुद्राले सहयोगी भूमिका खेल्न सक्छ । तर, नोट घटाउने रणनीतिको पछाडि कालो धन नियन्त्रण गर्न, सम्पत्ति शुद्धीकरण तथा करछलीजस्ता अपराध नियन्त्रण गर्नजस्ता कारण बताइन्छ । यसका लागि संसारभरका केन्द्रीय बैङ्कहरुले नगद कारोबारको सीमा तोक्न थालेका छन् र क्रमशः सीमा घटाउँदै पनि लगेका छन् । तर, बिटक्वाइनले यस्ता उद्देश्यहरुको परिपूर्ति गर्नमा सहयोग गर्दैन । त्यसकारण यसलाई केन्द्रीय बैङ्कहरुले नोटको वैकल्पिक भुक्तानी माध्यमका रुपमा स्विकारिहाल्ने अवस्था देखिन्न ।

के पर्छ असर ?
न्युयोर्क टाइम्सले केही समयअघि समाचार छाप्यो– ‘अफ्रिकाका ८० प्रतिशत युवाको बैङ्कखाता छैन । तर, कम्तीमा १६ प्रतिशत युवा मोबाइल मनी प्ल्याटफर्म प्रयोग गर्छन् ।’ उक्त महादेशले हरेक वर्ष ५० अर्ब अमेरिकी डलर रेमिट्यान्स भिœयाउँछ । त्यहाँका रेमिट्यान्स सेवाप्रदायकहरुले १२ प्रतिशतसम्म सेवाशुल्क लिने गरेका छन् । इन्टरनेटको सहायताले बिटक्वाइनलाई स्थानीय मुद्रामा सटही गरेर एटीएमबाट निकाल्न पाउने व्यवस्था गरिदिने हो भने अफ्रिकामा रेमिट्यान्स पठाउनेहरुले यसको प्रयोग बढाउन सक्ने सम्भावनालाई समाचारमा औँल्याइएको छ ।

नेपालमा पनि कुल रेमिट्यान्सको आधा रकममात्रै औपचारिक माध्यमबाट भित्रिने गरेको अनुमान छ । यद्यपि, केन्द्रीय बैङ्कले निकै सानो हिस्सामात्रै अनौपचारिक माध्यमबाट प्राप्त हुने गरेको दाबी गर्छ । जेहोस्, रेमिट्यान्सको भुक्तानीमा यसअघि विश्वव्यापी प्रयोग भएका माध्यमका अतिरिक्त बिटक्वाइनको पनि प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।

संसारमा हजारौँ मर्चेन्टले वस्तु तथा सेवाको भुक्तानीमा बिटक्वाइन प्रयोग गर्ने सुविधा दिइसकेका छन् । यो गति बढ्दो छ । तर, यसको प्रयोग भने साधारण उपभोग बजारमा भन्दा लागुऔषध कारोबारमा हुने भुक्तानीका लागि बढी भइरहेको समाचार पनि आएका छन् । संसारको जुनसुकै कुनाबाट तुरुन्तै पैसा भुक्तानी गर्न सकिने भएकाले लागुऔषध कारोबार, मानव बेचबिखन, आतङ्कवादी क्रियाकलापमा लगानी र अन्य वित्तीय अपराधमा पुँजी प्रवाह गर्न सजिलो पर्न सक्नेतर्फ धेरैले चिन्ता व्यक्त गरेका छन् ।

सम्पत्ति शुद्धीकरण, पुँजी पलायन वा स्थानान्तरणविरुद्धका कानुनी व्यवस्थाहरुलाई छलेर भुक्तानी गर्न बिटक्वाइनको प्रयोग हुन सक्ने आशङ्का पनि उत्तिकै छ । सहज भुक्तानीको सुविधाले विश्वव्यापी रुपमा अनौपचारिक व्यापारलाई प्रवद्र्धन गर्न सहयोग गर्न सक्ने अनुमान पनि गरिएको छ । अर्कातिर बिटक्वाइन पनि सीमित हुने भएकाले यसले सीमित स्रोत भएको अर्को लगानी उपकरण सुनको मूल्यमा प्रभाव पार्न सक्छ भन्ने आँकलन गर्नेको पनि कमी छैन ।

हुन्डीलगायत गैरकानुनी भुक्तानी प्रणालीलाई नियन्त्रण गर्न कठिन भइरहेका बेला बिटक्वाइन नयाँ चुनौती बनेर उभिएको छ । संसारभरका भुक्तानी व्यवस्थापन गर्ने सरकारी निकाय र केन्द्रीय बैङ्कहरुका लागि ठूलो टाउको दुखाइको विषय यो बन्न गएको छ ।

मुद्राको विश्वव्यापीकरण र बिटक्वाइन
निकै लामो र झन्झटिलो प्रक्रिया पार गरेर चीनले १० महिना अघिमात्रै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को स्पेसल ड्रइङ राइट (एसडीआर) डालोमा आफ्नो मुद्रा रेन्मिन्पीलाई समावेश गरायो । सन् १९७३ मा ब्रेटनउड्स प्रणाली (संसारभरका मुद्राको स्थिर विनिमय दर निर्धारण गरेको प्रणाली)को अन्त्यपछि अन्तर्राष्ट्रिय भुक्तानीमा आफ्नो मुद्राको उपयोग बढाउन संसारकै दोस्रो ठूलो अर्थतन्त्र कति आतुर थियो होला ? आईएमएफले अमेरिकी डलर, युरो, जापानी येन र ब्रिटिस पाउन्डपछि चिनियाँ मुद्रालाई आफ्नो एसडीआर डालोमा समावेश गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चिति (इन्टरनेसनल रिजर्भ) र विश्वव्यापी भुक्तानी प्रणालीमा आफ्नो मुद्राको प्रयोग बढाउने होडबाजी बढिरहेको छ । २०औँ शताब्दीमा अन्तर्राष्ट्रिय भुक्तानीमा आधिपत्य जमाएको अमेरिकी डलरले आफ्नो हिस्सा पछिल्ला वर्षमा गुमाउँदै गएको छ । तथापि, अहिले पनि अन्तर्राष्ट्रिय सञ्चितिको करिब ६४ प्रतिशत अमेरिकी डलरमै रहेको आईएमएफको तथ्याङ्क छ । विनिमय सञ्चितिमा चिनियाँ मुद्राको हिस्सा हाल २ प्रतिशतभन्दा कम भए पनि आगामी दिनमा बढ्दै जाने र अन्तर्राष्ट्रिय भुक्तानीमा रेन्मिन्पीले डलरको ठूलो हिस्सा खोस्न सक्ने अनुमान अर्थशास्त्रीहरु गर्न थालेका छन् ।

अर्कातिर, औपचारिक भुक्तानीको माध्यम (लिगल टेन्डर)का रुपमा मुलुकहरुले प्रचलनमा ल्याएका मुद्राको सङ्ख्या विश्वभर करिब एक सय ८० छ । हरेक अर्थतन्त्रको व्यापार साझेदारी र मुद्रा आपूर्तिको सम्भावित स्रोतका आधारमा विभिन्न मुलुकमा भिन्दाभिन्दै मुद्राको सटही सुविधा प्राप्त हुन्छ । तर, सीमित मुद्राहरुको मात्रै विश्वव्यापी सटही सुविधा उपलब्ध छ । अमेरिकी डलरसँग संसारभरका मुद्रा सटही गर्न सकिन्छ, नेपाली रुपैयाँसँग सकिन्न । त्यसकारण, अन्तर्राष्ट्रिय भुक्तानीका लागि विश्वभर स्वीकार्य मुद्राको प्रयोग गर्नुपर्ने अवस्था अहिले पनि छ । तर, त्यसका थुप्रै कानुनी एवम् प्रक्रियागत जटिलता छन् ।

हरेक मुलुकका आआफ्नै मौलिक वित्तीय कानुनहरुले पुँजीको विश्वव्यापी प्रवाहमा अवरोध सिर्जना हुने गरेको छ ।
बिटक्वाइनले यस्ता प्रक्रियागत जटिलता समाधान गर्ने एवम् कारोबार लागत र समय घटाउने भएकाले भविष्यमा यसप्रति मानिसको आकर्षण थप बढ्न सक्ने अनुमान गर्नु अन्यथा हुँदैन । क्रिप्टोकरेन्सीको व्यापक प्रयोगले अन्तर्राष्ट्रिय विनिमय प्रणाली र भुक्तानी प्रणालीलाई केही प्रभाव पार्न सक्ने आँकलन अर्थशास्त्रीहरुको छ । यिनै कारणले संसारभर बिटक्वाइनप्रति आकर्षण बढेको हो ।

सन्दर्भ टिप्पणी
नेपालमा कारोबार गर्ने कानुनी आधार छैन

डा. युवराज खतिवडा

पूर्वगभर्नर, नेपाल राष्ट्र बैङ्क
नेपालले बिटक्वाइनको नीति बनाएको छैन । विद्युतीय मुद्राको कुनै कानुन नै नभएकाले त्यस्तो क्षेत्रमा लगानी गर्नु गैरकानुनी हुन्छ । दोस्रो कुरा, बिटक्वाइनको बारेमा विश्वव्यापी रुपमा नै विवाद (रिजर्भेसन्स) छन् । प्रविधिमा आधारित अभौतिक मुद्रा भएकाले यसको अनुगमन, नियमन, पारदर्शिताजस्ता कुरामा विश्वस्त हुने आधार बनिसकेका छैनन् । त्यसकारण धेरै मुलुक त्यसतर्फ उत्साहित छैनन् । हामीले बिटक्वाइनमार्फत कारोबार गर्ने व्यवस्था गर्न हामीसँग समष्टिगत अर्थतन्त्र नै अभौतिक हुनुपर्छ अर्थात् स्मार्ट इकोनोमी हुनुपर्छ ।

कानुन बनाउनु आवश्यक छैन

नारायणप्रसाद पौडेल
प्रवक्ता, नेपाल राष्ट्र बैङ्क
बिटक्वाइनको बारेमा कानुन बनाउनुपर्ने आवश्यकता नै छैन । विदेशी मुद्रा के हो, नेपालमा कुनकुन मुद्राको सटही हुन्छ भन्ने कुरा विद्यमान कानुनले स्पष्ट पारेको छ ।

नेपालमा पुँजी खाता पूर्ण परिवत्र्य छैन । पुँजी खाता परिवत्र्य नहुनु भनेको कुनै पनि नेपाली नागरिकले विदेशी बैङ्कमा रकम जम्मा गर्न, विदेशी बजारबाट सेयरलगायतका धितोपत्र खरिद गर्न, बन्ड तथा अन्य कुनै पनि किसिमको वित्तीय सम्पत्तिमा लगानी गर्न पाउँदैन । यस व्यवस्थाले पनि बिटक्वाइन अवैध हो भन्ने पुष्टि हुन्छ ।

विदेशी विनिमय नियमित गर्ने ऐनले बिटक्वाइनमा लगानी गर्न दिँदैन । विदेश भ्रमणमा जाँदा पासपोर्टका आधारमा कति सटही सुविधा पाउने भन्ने कानुनले तोकेको छ । पढ्न जाँदा कति पाउने, स्वास्थ्योपचार गर्न जाँदा कति पाउने भन्नेजस्ता सुविधा स्पष्ट छ । यी सबै चालू खातामा देखिने पैसा हो ।

तर विदेशमा घर किन्छु, जग्गा किन्छु, सेयर किन्छु, डेरिभेटिभ्समा लगानी गर्छु भन्न पाउँदैन । यसका लागि हामीसँग पर्याप्त कानुन छ । नयाँ कानुन बनाउनुपर्ने जरुरी छैन ।

त्यसबाहेक राष्ट्र बैङ्कले यो काम कानुनसम्मत छैन भनेर सूचनासमेत जारी गरिसकेको अवस्थामा कसैले त्यसको कारोबार गर्छ भने ऊ सजायँको भागीदार हुन्छ ।

 

(क्यापिटल म्यागेजिनकाे साउन अंकबाट)