५१४ करोड लगानीमा २५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु, ३० प्रतिशत सेयर निष्कासन गर्ने

आयोजना बनाउन सानिमा बैंकको नेतृत्वमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुनेछ । बाँकी १ अर्ब ६४ करोड रुपैयाँ संस्थापकले स्वपुँजी (इक्विटी) लगानी गर्नेछन् ।

काठमाडौं : गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा म्याग्दी जिल्लामा २५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । आयोजनाको महिला बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र धौलागिरि कालीका हाइड्रोपावर कम्पनीका अध्यक्ष विनोद कुवँरले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । आयोजना बनाउन ५ अर्ब १४ करोड रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ ।
आयोजना बनाउन सानिमा बैंकको नेतृत्वमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुनेछ । बाँकी १ अर्ब ६४ करोड रुपैयाँ संस्थापकले स्वपुँजी (इक्विटी) लगानी गर्ने भएका छन् । आयोजनामा निर्माणाधीन अवस्थामा प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी ३० प्रतिशत सेयर निष्कासन गर्ने कम्पनीका अध्यक्ष कुँवरले जानकारी दिए ।

सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रोले आउँदा ३ वर्ष ६ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ । नदीको बहावमा आधारित आयोजनामा पानीको बहाव ३१.४ घनमिटर प्रतिसेकेन्ड छ । १०४ मिटर उचाइबाट पानी खसालेर बिजुली उत्पादन गरिनेछ । दरबाङमाथि देवीस्थानमा बाँध निर्माण गरी खोलाको पानीलाई ५ किलोमिटर सुरुङ्मार्गबाट शहस्रधारानेर रातोढुङ्गामा पुर्याएर २०० मिटरको पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी झारेर विद्युत् उत्पादन गरिनेछ ।

विद्युत् गृह र मुहानसम्म नै सडक पहुँच रहेको आयोजनाको उत्पादित विद्युत् १४ किलोमिटर लामो १३२ केभि लामो प्रसारणलाइन हुँदै प्रस्तावित डाँडाखेत सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजना निर्माणमा स्थानीय लगानीकर्ता र ग्याग्दीमा जन्मिएर प्रवासमा रहेका नेपालीहरुको लगानी रहनेछ । एनआरएनए हङ्कङ समूह, काठमाडाैं म्याग्दी इन्भेष्टमेण्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवर्धक रहेकाे परियोजनामा एनआरएनएका एसिया प्रशान्त उपसंयोजक विनोद कुँवर अध्यक्ष छन् ।

एनआरएनले जलविद्युतकाे विकासमा गरेको योगदानको एक उदाहरणका रुपमा यस आयोजनालाई लिइएको छ ।