७ अर्ब रुपैयाँको लगानीमा ३५.४७ मेगावाट क्षमताको ब्रह्मायणी र ३ अर्ब रुपैयाँको लगानीमा १५.१५ मेगावाट क्षेमताको अपर ब्रह्मायणी आयोजना निर्माण हुन लागेको हो ।
चौतारा । सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले ५० मेगावाट क्षमताका दुईओटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ । दुई आयोजना निर्माण गर्न प्रवद्र्धक इन्द्रीगेटेट हाडड्रो फण्ड नेपालले १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
७ अर्ब रुपैयाँको लगानीमा ३५.४७ मेगावाट क्षमताको ब्रह्मायणी र ३ अर्ब रुपैयाँको लगानीमा १५.१५ मेगावाट क्षेमताको अपर ब्रह्मायणी आयोजना निर्माण हुन लागेको हो । दुबै आयोजनाबाट आगामी चार वर्षभित्र बिजुली बल्ने प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष भरत पराजुलीले जानकारी दिए।
दुवै आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाममा प्रतियुनिट ८.४० र वर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको उनले जानकारी दिए । जुगल हिम शृङ्खलाको फेदीमा पर्ने पेमासालमा बाँध बाँधी ५.८ किमी सुरुङमार्फत जुगल गापा–२ स्थित गोल्चेको तेम्वाथान फेदीमा पर्ने लाङटाङ र वलेफीको दोभानमा निर्माण हुने विद्युत् गृहमा पानी खसालिनेछ । त्यहाँ निर्माण गरिने सबै संरचना भूमिगत हुनेछ । आयोजनाबाट वार्षिक घण्टा २० करोड ८४ लाख २८ हजार युनिट विद्युत् उत्पादन हुनेछ ।
त्यसैगरी लाङटाङ र वलेफीको दोभानभन्दा १०० मिटरमाथि विद्युत् गृह निर्माण गरी ३.५ किमी सुरुङमार्फत पानी खसाली अपर ब्रह्मायणी जलविद्युत् आयोजनाको निर्माण गरिने छ । दुवै आयोजनावाट सन् २०२३ को जुलाईमा व्यापारिक उत्पादन गरिने लक्ष्य रहेको छ । उत्पादिन विद्युत्लाई आयोजनास्थलदेखि १६ किमी टाढा रहेको सोही गाउँपालिका–४ स्थित पाङतानमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको सब–स्टेशनमा जोडिनेछ । आयोजना सम्पन्न हुने समयसम्म पनि सब–स्टेशन निर्माणमा ढिलाइ भएमा ३४ किलोमिटर टाढा पर्ने बाह्रविसे सब–स्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।
आयोजनास्थलसम्म पग्ने १६ किमी प्रवेश मार्गका लागि गाउँपालिका र अन्य आयोजनासँग समन्वय गरिने बताइएको छ । आयोजनाका लागि स्वदेशी र विदेशी लगानीकर्तासँग लगानी जुटाउन छलफल भइरहेको अध्यक्ष पराजुलीले जानकारी दिए। उक्त करिडोरमा योबाहेक कूल १५० मेगावाट क्षमताका अन्य ६ वटा आयोजना मध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् । रासस