केन्द्रीय बैङ्कले तीव्र रुपमा बढिरहेको ब्याजदरको समस्या समाधान गर्न दिउँसो साढे १ बजेलाई बैठक बोलाएको छ । नेपाल बैङ्कर्स सङ्घलाई बैठकमा बोलाउँदै ब्याजदरको समस्या समाधानतर्फ केन्द्रीय बैङ्क अग्रसर देखिएको हो ।
काठमाडौं : बैङ्कमा देखिएको ब्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैङ्क अग्रसर भएको छ । केन्द्रीय बैङ्कले तीव्र रुपमा बढिरहेको ब्याजदरको समस्या समाधान गर्न दिउँसो साढे १ बजेलाई बैठक बोलाएको छ । नेपाल बैङ्कर्स सङ्घलाई बैठकमा बोलाउँदै ब्याजदरको समस्या समाधानतर्फ केन्द्रीय बैङ्क अग्रसर देखिएको हो ।
बैठकमा २८ ओटै वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई बोलाइएको छ । राष्ट्र बैङ्कका कर्मचारीसमेत बैठकमा सहभागी हुने सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालले बताए । उनले भने, ‘केन्द्रीय बैङ्कले बैठकमा बोलाएको छ, तर ब्याजदरका विषयमा नै छलफल हुने वा अन्य विषयमा हुने भन्ने थाहा छैन ।’
तर, केन्द्रीय बैङ्कले ब्याजदर वृद्धिको समस्या र अस्वस्थ प्रतिस्पर्धाको समाधानका लागि बैठक आयोजना गरिएको बताइएको छ । आफूहरुबीच भएको भद्र सहमति तोडिएपछि बैङ्कहरुले एकाएक ब्याजदर वृद्धि गरेका थिए । ठूला तथा राम्रा बैङ्कले समेत हाल १३ प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन् ।
भद्र सहमति तोडिएपछि समस्या आएकाले फेरि ब्याजदरमा सीमा लगाइने जानकारी दिइएको छ । नबिल, हिमालयन, कुमारी तथा सेञ्चुरी बैङ्कले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याजदर घोषणा गरिसकेका छन् ।