जलविद्युतमा आक्रामक बन्दै बुटवल पावर

बीपीसीले सिचुवान प्रोभेन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, छेन्दुछेनचेङ इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र क्विङयुन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको साझेदारीमा जलविद्युत् आयोजना निर्माण थालेको हो ।

काठमाडौं : बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी)ले चिनियाँ कम्पनीसँगको साझेदारीमा झन्डै १ हजार ३०० मेगावाट क्षमताका ७ ओटा जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ ।

बीपीसीले सिचुवान प्रोभेन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, छेन्दुछेनचेङ इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र क्विङयुन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको साझेदारीमा जलविद्युत् आयोजना निर्माण थालेको हो ।

जलविद्युत् आयोजना निर्माणमा लगानी एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड गठन भइसकेको छ । यसमा बीपीसीको १९ प्रतिशत स्वामित्व छ ।

साझेदारीमा निर्माण हुन लागेको आयोजनाको काम विभिन्न चरणमा पुगेका छन् । बीपीसीले साझेदारीमा १६० मेगावाटको मुगुकर्णाली, ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी दोस्रो, ८.५ मेगावाटको चिनोखोला, २८२ मेगावाटको मनाङ मस्र्याङदी, १४० मेगावाटको तल्लो मनाङ आयोजना आयोजना बनाउन लागेको छ । सम्झौताअनुसार ३ ओटा चिनियाँ कम्पनीले संयुक्त रुपमा एसीआईजीमार्फत २ अर्ब डलर अर्थात् २ खर्ब रुपैयाँ विदेशी लगानी ल्याउने सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम एसीआईजीले दुई ठूला आयोजनाको सम्पूर्ण स्वामित्व खरिद गरेको हो ।

५ वर्षमा २ अर्ब डलर अर्थात् २ खर्ब रुपैयाँ जलविद्युतमा लगानी गर्ने सहमतिबमोजिम आयोजना एसीआईजीमार्फत काम अघि बढेको बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । मुगु कर्णालीमा सम्भाव्यता अध्ययन सुरु भइसकेको उनको भनाइ छ । माथिल्लो मस्र्याङ्दीको दोस्रो हालै खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जीएमआर इनर्जी लिमिटेडबाट यो आयोजना एसीआईजीले खरिद गरेको हो । यसमा बीपीसीको २० प्रतिशत स्वामित्व रहेको उनले जानकारी दिए ।

चिनोखोलाको सम्भाव्यता अध्ययनको काम सम्पन्न भई हाल विस्तृत इन्जिनियरिङको काम भइरहेको छ । मनाङ मस्र्याङ्दी आयोजना पनि खरिदको क्रममा रहेको बीपीसीले जनाएको छ । यो आयोजनालाई पनि तल्लो मनाङ मस्र्याङ्दी आयोजनासँग सुधार गरी क्यास्केडका रुपमा विकास गर्ने योजना बीपीसीको छ । तल्लो मनाङ मस्र्याङ्दी आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको छ । विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) का लागि जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट)को चरणमा पुगेको छ ।

बीपीसीले आफनो लगानीमा ३० मेगावाटको न्यादी र ३७.६ मेगावाटको काबेली ए आयोजना निर्माण गरिरहेको छ । न्यादीको ५० प्रतिशत काम सम्पन्न भएको बीपीसीले जनाएको छ । आयोजना सन् २०२० को अप्रिलमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो आयोजनामा हालसम्म १ अर्ब ३२ करोड रुपैयाँ लगानी भइसकेको बीपीसीले जनाएको छ । यस्तै काबेलीमा २२ प्रतिशत मात्र काम सकिएको छ । काबेलीमा १ अर्ब ६४ करोड रुपैयाँ लगानी भइसकेको छ । काबेली ए विदेशी साझेदारीमा निर्माण सुरु भएको हो । यो आयोजना पनि सन् २०२० को मध्यमा सक्ने लक्ष्य छ ।

यस्तै ६० मेगावाटको माथिल्लो खिम्ती जलविद्युत आयोजनामा बीपीसीको १६.८८ प्रतिशत लगानी छ । आजको दिनमा फेयर भ्यालुका आधारमा १ अर्ब १३ करोड ७७ लाख रुपैयाँ लगानी पुगेको छ । गत वर्ष बीपीसीले खिम्तीबाट झन्डै ५० करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ । यस्तै ४ मेगावाटको खुदी आयोजनामा ६० र न्यादीमा ९७.२२ र काबेलीमा २७.४० प्रतिशत स्वपँुजी (इक्विटी) लगानी छ । यसका अतिरिक्त बीपीसी आफ्नो १२ मेगावाटको झिम्रुक र ९ मेगावाटको आँधीखोला आयोजना सञ्चालनमा छन् ।

बीपीसीले गत आर्थिक वर्षमा ७० करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । थप निष्कासन (एफपीओ) पछि बीपीसीको खुद सम्पत्ति दोब्बर बढेर ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।